• ११ चैत २०८२, बुधबार

सुन जस्तो देखिने धातुसहित चार जना पक्राउ

blog

प्रवीण कुमार शर्मा
रौतहट, चैत ११ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित जगत रिसोर्ट होटलबाट सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर नगरपालिका वडा नं. ३ घर भई हाल भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ मटिघारा ग्राम पंचायत वडा नं.३ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बस्ने ३० वर्षीय अरविन्द चौधरी, रौतहटको बौधिमाई नगरपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

जगत रिसोर्ट होटलको कोठा नं. १०२ मा सुन जस्तो देखिने अवैध बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक रुपा लाबुंगको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कोठा र चारै जनाको शरीर तलासी गर्दा अरविन्द चौधरीको लगाएको पाइन्टको खल्तीमा रहेको पर्स भित्र निलो रंगको प्लास्टिकको तीनवटा प्याकमा सिल गरिएको अवस्थामा, ‘क्रेडिट स्विस १० ग्राम फाइन गोल्ड ९९९.९’ लेखिएको प्लास्टिक प्याक सहितको पहेँलो रंगको नक्कली सुन जस्तो देखिने धातु चार थान, कालो पोलिथिनमा बनाइएको एक थान र काटी टुक्रा पारिएको दुई थान गरी जम्मा सात थान, मोबाइल आठ थान र दुर्बिन जस्तो देखिने ‘एन्टिक ठूलो दृष्टि यन्त्र’ ‘ईस्ट इन्डिया कम्पनी’ लेखिएको मेसिन एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो।

घटनाको प्रारम्भिक अनुसन्धान गर्दा पक्राउ परेका चारै जनाले ठगी गर्ने उद्देश्यले नक्कली सुन जस्तो धातु राखेको खुलेको प्रवक्ता बस्यालले जानकारी दिनुभयो। घटनाको थप अनुसन्धान भइरहेको छ।