काठमाडौँ, चैत ११ गते । चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेज पनि हो।
अनुसन्धानकर्ता डा. सीता ढुंगानाका अनुसार, योजना दुई चरणको व्यापक छलफल र जनपरामर्शपछि तयार पारिएको हो। यसमा नेशनल पिपुल्स कंग्रेसले कार्यान्वयन र कानुन निर्माणको भूमिका हेर्छ भने चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनले सल्लाहकारको भूमिका निर्वाह गर्दछ।
योजनाले चीनलाई विश्वको पहिलो ठूलो अर्थतन्त्र बनाउने लक्ष्य राखेको छ। आर्थिक वृद्धिको लक्ष्य ४.५–५.५ प्रतिशत निर्धारण गरिएको छ। डा. ढुंगानाले यसलाई चीनको ‘मुख्य मार्गनिर्देशन दस्तावेज’ को रूपमा व्याख्या गर्नुभएको छ, जसले आगामी पाँच वर्षको राज्य नीति र स्रोत बाँडफाँटलाई निर्देशित गर्नेछ।
योजनामा विज्ञान र प्रविधिलाई राष्ट्रिय विकासको मुख्य चालक शक्ति बनाउने स्पष्ट लक्ष्य राखिएको छ। चीनले आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम प्रविधि, क्वान्टम कम्प्युटिङ, ६जी सञ्चार, ब्रेन–कम्प्युटर इन्टरफेस र एड्भान्स्ड रोबोटिक्सलाई प्राथमिकतामा राखेको छ। अनुसन्धान र विकासमा २२६ बिलियन युआनभन्दा बढी खर्च गर्ने योजना रहेको छ।
योजनाले उच्च गुणस्तरको विकासमा जोड दिँदै, परिमाणभन्दा गुणस्तरलाई माथि राख्ने नीति अपनाएको छ। यसले चीनको जीडीपीमा ६ ट्रिलियन वृद्धि गर्ने लक्ष्य राखेको छ। ‘स्ट्रक्चरल अपग्रेड’ मार्फत अर्थतन्त्रलाई स्थिर र नविन बनाउन प्रयास गरिनेछ।
डिजिटल अर्थतन्त्रमा पूर्ण रूपान्तरण, कर चुहावट न्यूनीकरण, कर तिर्ने नागरिकलाई ‘स्टार’ प्रणाली मार्फत सम्मान र सुविधा प्रदान गर्ने नीति लागू गरिएको छ। साथै, हरित विकासमा जोड दिँदै नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन र हरित नविनतामा लगानी गर्ने योजना रहेको छ।
डा. ढुंगानाका अनुसार चीनको यो विकास यात्रा नेपालका लागि ठुलो अवसर हो। नेपालले चीनसँग सहकार्यबाट पूर्वाधार, व्यापार र लगानीमा फड्को मार्नसक्नेछ। सडक, सुरुङमार्ग, रेल्वे निर्माण र बीआरआई प्रोजेक्टमा प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँले सुझाउनुभयो।
नेपालमा वैज्ञानिक योगदान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक डा. टिष्टा प्रसाईं जोशीले २२ वर्षदेखि पानी सम्बन्धी अनुसन्धानमा योगदान दिइरहनुभएको छ। उहाँले विभिन्न जिल्लामा पानीका नमूना संकलन गरी समस्या पहिचान र समाधान गर्दै आउनुभएको छ।
डा. जोशीले अन्तर्राष्ट्रिय विद्यार्थीलाई मार्गदर्शन गर्दै ७५ भन्दा बढी अन्तर्राष्ट्रिय प्रकाशन र सयौं सम्मेलनहरूमा सहभागिता जनाउनुभएको छ। चीनको वैज्ञानिक अनुसन्धान प्रणाली नजिकबाट अवलोकन गरेका उहाँले नेपालमा प्रविधि र अनुसन्धानको विकासलाई सुदृढ गर्न योगदान पुर्याइरहनुभएको छ।
नेपालमा आधुनिक पानी शुद्धीकरण आयोजना नास्ट र चिनियाँ एकेडेमी अफ साइन्सेसको सहकार्यमा सञ्चालन भइरहेकाले जनतालाई स्वच्छ पानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।