काठमाडौँ, चैत ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको हो ।
सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत केसी निर्वाचित हुनुभएको थियो। उहाँको उमेर ७८ वर्ष हो।
ज्येष्ठ सदस्यको हैसियतले, केसीले बिहीबार (चैत्र १२ गते) प्रतिनिधि सभाका सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्य गर्नुहुने छ। सभामुख निर्वाचित नभएसम्म प्रतिनिधि सभामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले नै गर्नुहुने प्रचलन छ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरी जम्मा २७५ जना सांसद निर्वाचित भएका छन्।