• १० चैत २०८२, मङ्गलबार

आमा पिट्ने छोरा पक्राउ

blog

लीलाराज खड्का

बिर्तामोड, चैत १० गते । झापाको भद्रपुर नगरपालिका–८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। सोमवार दिउँसो आफ्नै ७९ वर्षीया आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा यशिस घिमिरेले निर्घात कुटपिट गरेका थिए। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले आरोपित घिमिरेलाई नियन्त्रणमा लिएको हो।

पीडित वृद्ध आमाको उद्धार गरी उपचार भइरहेको छ भने पक्राउ परेका छोरामाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबिच, बिर्तामोडमा ६ वर्षका छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने आमा पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बिर्तामोड–५ बस्ने २५ वर्षीया सुमित्रा लामगादे हुनुन्। गत शनिवार दिउँसो सुमित्राले आफ्ना ६ वर्षीय छोरा रुक्सन लामगादेलाई निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

बालकको शरीरका विभिन्न भागमा निलडाम तथा चोटपटक लागेपछि सुनगाभा बोर्डिङ स्कुलले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो। प्रहरी टोलीले कुटपिट गर्ने आमालाई नियन्त्रणमा लिएको हो। घाइते बालकलाई हजुरबुबाको साथमा उपचारका लागि आशा मेडिकल पठाइएको छ। आमा सुमित्रालाई क्षितिज सुधार केन्द्रमा राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।