• १० चैत २०८२, मङ्गलबार

हिंसापीडितलाई आश्रय दिँदै गण्डकी सरकार

blog

मङ्गलबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्नु हुँदै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा । तस्बिरः गोरखापत्र

लेखनाथ समाचारदाता

लेखनाथ, चैत १० गते । गण्डकी सरकारले दीर्घकालीन पुन : स्थापना केन्द्रमार्फत हिंसापीडितलाई आश्रय र समाजमा पुनस्र्थापनामा जोड दिएको छ । 

प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मङ्गलबार गत वर्षबाट सञ्चालनमा आएको केन्द्रमार्फत् अहिलेसम्म ९४ हिंसा पीडितलाई आश्रम प्रदान गरिएको जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सभामा प्रदेशसभा सदस्यहरुले उठाउनुभएका प्रश्नहरुको जवाफ दिँदै उहाँले मन्त्रालयले लक्षित वर्गको हितमा अधिकतम कार्य गरिरहेको उल्लेख गर्नुभयो । प्रदेश सभाको नवौं अधिवेशनमा उहाँले भन्नुभयो, “तीमध्ये ४६ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । बाँकीलाई सुरक्षित आवाससहित मनोवैज्ञानिक सहयोग दिइएको छ ।” 

बागलुङ, पर्वत, म्याग्दी, लमजुङ, गोरखा, स्याङ्जा, तनहुँ र नवलपुर जिल्लामा अल्पकालीन सेवा केन्द्रमार्फत तत्काल उद्धार र संरक्षणका काम भइरहेको मन्त्री थापाको भनाइ छ ।

महिलालाई तुरुन्त सहायता पु¥याउन टोल–फ्री हेल्पलाइन र अपाङ्गता भएका व्यक्तिका लागि दोभाषेसहितको सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । कानुनी सहयोगका लागि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत सेवा प्रवाह भइरहेको मन्त्री थापाले जानकारी दिनुभयो 

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा मन्त्रालय र मातहतका कार्यालयमा ११ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति भएको र अहिले मर्मत तथा पुनर्निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो । गोरखाको छेपेटारमा ज्येष्ठ नागरिक आश्रम निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा छ ।

मन्त्रालयले पोखराको नयाँबजारमा रहेको प्रदेश सङ्ग्रहालय पोखरामा कोसेलीघर बनाइरहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन १३ वटा आप्रवासी स्रोत केन्द्रमार्फत वित्तीय साक्षरता र २८ स्थानीय तहसँगको सहकार्यमा योग तथा ध्यान कार्यक्रम चलाइरहेको छ । शैक्षिक परामर्श तथा भाषा शिक्षण सेवाका लागि ४८ वटा संस्थालाई अनुमति दिइएको छ । 

बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान २७.८० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । “हाम्रा कृषकले सुन्तलाबाट मात्रै तीन अर्ब ८६ करोड ६८ लाख र स्याउबाट एक अर्ब ३० लाख रुपैयाँको कारोबार गरेका छन्,” उहाँले भन्नुभयो । चैते धानबाट ३० करोड र आलु उत्पादनबाट करिब ३६ करोड कारोबार भएको मन्त्रालयको तथ्याङ्क छ । 

मन्त्रालयले स्याङ्जाको फेदीखोलामा दक्षिण कोरियाको निकाय कोइकामार्फत झन्डै एक अर्ब २० करोड लागतमा प्राविधिक शिक्षालय निर्माण गरिरहेको छ । 

बैठकमा बागलुङमा दादुरा रोग महामारीका रूपमा फैलिएकोमा सरकारले प्रभावकारी कदम चल्न नसकेको भनी सरकारको आलोचना गर्नुभयो । ढोरपाटन नगरपालिकामा एक सय ५५ बालबालिका र किशोरकिशोरी संक्रमित हुँदा पनि सरकारले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रदेश सभामा प्रदेशसभा सदस्य दिलमाया पौवीले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

पौवीले यो सङ्क्रमणलाई राज्यको सेवा पहुँच र खोप अभियानको असफलताका रूपमा चित्रण गर्नुभयो । प्रदेशसभा सदस्यहरु निर्मला थापा र श्यामराजा महतले पनि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।