चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १० गते । ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ । साँझ ५ बजेपछि वर्षासँगै परेको असिनाले खाद्यान्न बाली मकै, नगदेबाली अलैँची लगायतमा क्षति गरेको हो ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिकासहित विभिन्न क्षेत्रमा परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको स्थानीय किसानले बताएका छन् । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका स्थानीय लिङ्खिम लिम्बूका अनुसार सामान्य वर्षा र मेघ गर्जनसँगै किसानले लगाएको बालीनालीलाई क्षति गर्नेगरी असिना परेको छ ।
असिनाले तीन–चार पाते भएको मकैको बिरुवा, तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको लिङ्खिमले बताउनुभयो । उहाँका अनुसार नगदेबाली अलैँची बगैँचा (बगान) लाई पनि असिनाले क्षति गरेको छ । फक्ताङ्लुङको लिङ्खिमसहित सोही गाउँपालिका वडा १ सावादिन, वडा २ खेजेनिम, वडा ४ इखाबु, वडा ५ तापेथोक लगायत क्षेत्रमा बाक्लो असिना परेको उहाँले जानकारी दिनुभयो ।
असिनाले भर्खरै उम्रिँदै गरेको मकै र तरकारी बाली सखाप बनाएको छ भने फूल खेल्दै गरेको फलफूल खेतीमा पनि असिनाले नराम्ररी क्षति पु¥याएको स्थानीयले बताएका छन् । त्यस्तै गहुँ, आलु, लसुन लगायतका हिउँदे बालीमा पनि असिनाले क्षति पु¥याएको किसानको भनाइ छ ।
फक्ताङ्लुङसहित जिल्लाको अन्य क्षेत्रमासमेत असिना परेको किसानले बताएका छन् । केही दिनअघि जिल्लाको सिरिजङ्घा गाउँपालिका, सिदिङ्वा गाउँपालिका लगायतका क्षेत्रमा असिना परेको थियो । सो समयमा परेको असिनाले पनि किसानले लगाएको कृषि बालीमा क्षति पु¥याएको थियो ।