अनिल पराजुली
हेटौँडा, चैत १० गते । करेन्ट लागेर मकवानपुरमा एक वडा सदस्यको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ का वडा सदस्य ४२ वर्षीय ज्ञान बहादुर गोलेको मङ्गलवार करेन्ट लागेर मृत्यु भएको हो ।
बकैया–११ स्थित पिपलडाँडा लेकमा बस्ने गोले वडा कार्यालयको नियमित बैठकमा सहभागी हुन आउने क्रममा बाटोमा भुईँमा झरेको बिजुलीको तार पन्छाउने प्रयास गर्दा करेन्ट लागेर घटनास्थलमै अचेत हुनुभएको थियो ।
विद्यालय जाने क्रममा बालबालिकाले उहाँलाई अचेत अवस्थामा देखेपछि स्थानीय अभिभावकलाई खबर गरेका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
११ नंं वडाध्यक्ष गोपाल बहादुर नेसुरका अनुसार प्रत्येक महिना वडा कार्यालयको बैठक बस्ने र सोही बैठकमा सहभागी हुन आउने क्रममा उक्त दुर्घटना भएको हो । घटनापछि उपचारका लागि लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए । गोलेको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ।
गोले स्थानीय तह निर्वाचन २०७४ र २०७९ मा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले वडामा अपूरणीय क्षति पुगेको भन्दै वडाध्यक्ष नेसुरले शोक सन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।