• १० चैत २०८२, मङ्गलबार

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

blog

दाङ, चैत ९ गते । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ ।

इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पु¥याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् ।

अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका प्रायः सबै इँटा उद्योगले ठूलो क्षति पुगेको बताउनुभयो । हाल जिल्लाभरको क्षति विवरण सङ्कलन भइरहेको छ । प्रारम्भिक तत्थाङ्कअनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्रै एक करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको समितिका कोषाध्यक्ष केवल खत्रीले जानकारी दिनुभयो ।

देउखुरी क्षेत्रका आठवटा इँटा उद्योगमा पनि क्षति भएको  प्रारम्भिक  विवरण प्राप्त भएको छ । हरेक इँटा उद्योगका पाँचदेखि छ लाखसम्म कच्ची इँटा नष्ट भएको जनाइएको छ । काँचो इँटा सुकाउने सुरक्षित व्यवस्था र प्रविधि नहुँदा आफूहरूका  करोडौँ रुपैयाँ लगानी गरी सञ्चालन गरेका इँटा उद्योगको लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् । 

हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभर साढे सात करोड रुपियाँभन्दा बढी क्षति भएको इँटा व्यवसायी समितिका कोषाध्यक्ष खत्रीले बताउनुभयो । ती उद्योगमा तीन हजार मजदुर कार्यरत छन् ।  रासस