वालिङ (स्याङ्जा), चैत ९ गते । यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ ।
वालिङ नगरपालिका–१० फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयले केरा खेती सुरु गरेको हो । जिल्लाकै नमूना विद्यालयकारूपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै आफ्नै स्वामित्वमा रहेको करिब १० रोपनी जग्गामा ‘जी नाईन’ जातको केराका बेर्ना लगाएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा प्राविधिक शिक्षालयको साझेदारी व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत केरा खेती गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो ।
“विगत लामो समयदेखि विद्यालयको स्वामित्वमा रहेको जमिन बाँझो रहेको थियो” उहाँले भन्नुभयो, “बाँझो जमिनको सदुपयोग पनि भयो पढ्दै कमाउँदै कार्यक्रम साथै कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान विषयका विद्यार्थीलाई प्रयोगात्मक अभ्यास पनि यहीँ गराउन सक्ने भएका छौँ ।”
व्यावसायिक केरा खेती कार्यक्रमका लागि कार्यालयको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत लागत साझेदारी रहेको छ । कार्यालयकातर्फबाट तीन लाख ९५ हजार ७१० रुपियाँ र विद्यालयकातर्फबाट एक लाख ६९ हजार ५९० रुपियाँ गरी कूल पाँच लाख ६५ हजार ३०० रुपैयाँ लगानी रहेको छ । रासस