काठमाडौँ, चैत ९ गते । राष्ट्रिय किताबखाना (निजामती) ले ई–पेन्सन सेवा सुरु गरेको छ । किताबखानाले प्रदान गर्ने अधिकांश सेवा अनलाइनमा आधारित बनाउँदै सेवाग्राहीले अनलाइनबाटै सेवा प्राप्त गर्न सक्ने गरी ई–पेन्सन सेवा सुरु गरेको हो । आगामी दिनमा सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाश भएका सबै कर्मचारीले पेन्सन वा उपदानबाट निवृत्त भएपछि पाउने सेवाका लागि किताबखाना धाइरहनु पर्दैन ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले ई–पेन्सन कार्यान्वयनमा आएसँगै किताबखाना पूर्णतः ‘फेसलेस’ भएको बताउनुभयो । देशभरका कुनै पनि सरकारी कार्यालयबाट कर्मचारी सेवाबाट अवकाश भएपछि किताबखाना नआईकनै पेन्सनपट्टा बनाउन सक्ने छन् । यस अगाडि भने सेवाबाट अवकाश भएका कर्मचारीलाई पेन्सनपट्टा बनाउन पटक पटक किताबखाना धाउनुपर्ने बाध्यता थियो । अहिले वार्षिक दुई हजार तीन सय जना कर्मचारी सेवाबाट अनिवार्य अवकाश र विभिन्न कारणले ९७५ जना कर्मचारीले अवकाश हुँदा औसत रूपमा वार्षिक तीन हजार २७५ जना कर्मचारी सेवाबाट अवकाश हुँदै आएका छन् । महानिर्देशक पोखरेलका अनुसार नयाँ ई–पेन्सन सेवाका लागि प्रारम्भमा सहजकर्ता निकायका रूपमा ७७ वटै जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जिम्मेवारी लिने छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले किताबखानाले प्रयोग गर्ने प्रणाली ई–पेन्सनका आधा काम प्रयोग गर्न सक्ने गरी जिम्मेवारी प्रदान गरिएको छ ।
त्यो आधा काममा सेवानिवृत्त कर्मचारीको केही विवरण ‘अपलोड’ गरी केही विवरण अद्यावधि गर्ने छ । कोलेनिकाले अपलोडको काम गरिदिएपछि त्यो सम्पूर्ण विवरण किताबखानाको ‘सिस्टम’ मा देखिन्छ । त्यसपछि किताबखानाका कर्मचारीले आफ्नो स्क्रिनमा देखिएका निवृत्त कर्मचारीको विवरण र अपलोड भएको डकुमेन्ट आफ्नो रेकर्ड अनुसार ठिक छ वा छैन जाँच गर्छन् । कुनै विवरण फरक परे सम्पर्क गरेर सहजीकरण गर्ने छन् । अन्यथा सेवाबाट निवृत्त कर्मचारीले पाउने सेवा स्वीकृत गर्ने छन् । त्यसपछि डिजिटल छाप र हस्ताक्षर गरी पुनः सिस्टमबाटै कोलेनिकामै पठाउने छन् । अनि कोलेनिकाले छापेर दिने व्यवस्था गरिएको छ ।
त्यसपछि सेवाग्राही आफ्नो कार्यालयमा सञ्चित बिदा र औषधोपचारको पत्रसहित सुविधाका लागि पुग्ने छन् । अवकाश भएको व्यक्तिले रोजेको बैङ्कमा पेन्सन खाता खोल्न पुग्ने गरी सेवालाई ‘डिजिटलाइजेसन’ गरिएको महानिर्देशक पोखरेलले बताउनुभयो । पोखरेलले थप्नुभयो, “कुनै कार्यालय प्रमुखले आफ्नो कार्यालयबाट अवकाश वा राजीनामा स्वीकृत गराई निवृत्त हुन लागेका कर्मचारीलाई कार्यालयबाटै ई–पेन्सन सेवा दिने चाहेमा त्यो सुविधा पनि एक पटकलाई सम्बन्धित कार्यालयलाई प्रदान गरिएको छ ।”