पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १७ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकालाई ‘पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ नगरका रूपमा दिगोपना घोषणा गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
नगरभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा गर्भवती महिलाहरूले सुरक्षित रूपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिइरहेको सुनिश्चित भएपछि नगरपालिकालाई यो उपलब्धिको प्रमाणपत्र प्रदान गरिएको हो।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटलाई स्वास्थ्यका दृष्टिले देशकै नमुना नगर बनाउने अभियानमा आफूहरू लागिरहेको बताउनुभयो। “पूर्ण खोप र संस्थागत प्रसूति सुनिश्चित गर्नु हाम्रो प्राथमिकता थियो, जसमा हामी सफल भएका छौं,” उहाँले भन्नुभयो, “अब यो अवस्थालाई दिगो बनाउँदै नगरपालिकालाई ‘योग नगर’का रूपमा घोषणा गर्ने तयारी अघि बढाएका छौं।”
उपप्रमुख रुद्रप्रकाश उपाध्यायले मातृ तथा शिशु स्वास्थ्य सुधारका लागि नगरपालिकाले निरन्तर लगानी र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। आगामी दिनमा पनि कोही पनि सेवाग्राही प्रसूति र खोप सेवाबाट वञ्चित नहुने गरी संयन्त्र निर्माण गरिएको उहाँको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्वास्थ्य क्षेत्रमा प्राप्त यो उपलब्धिलाई संस्थागत गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। उहाँले यो घोषणा औपचारिकतामा मात्र सीमित नभई प्रशासनिक तथा योजनागत प्राथमिकताको परिणाम भएको उल्लेख गर्नुभयो।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले स्वास्थ्य सूचकहरूमा बर्दघाटको प्रगति प्रशंसनीय रहेको भन्दै जिल्लामै उत्कृष्ट नगरपालिकाका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो।