नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १७ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम जोड्ने डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भएको छ। डुडियाघाटमा काठेपुल विस्थापन गरी स्टिल ब्रिज बनेपछि पुल लामो समय टिक्ने र यात्रामा सहज हुने भन्दै स्थानीय खुसी भएका थिए। त्यही डुडियाघाटबाट तङ्ग्राम हुँदै धम्जा र ताराखोला जाने सडकसमेत सञ्चालनमा आएको थियो।
वर्षायाममा खोला बढ्दा सवारीसाधन आवतजावतमा समस्या भएपछि गण्डकी प्रदेश सरकारले डुडियाघाटमा तीन करोड ६२ लाख २२ हजार रुपियाँ खर्चेर मोटरेबल पुल निर्माण गरेको छ। सो पुल बनेपछि छेउकै लाखौँ लगानीमा बनेको झोलुङ्गे पुल प्रयोगविहीन बन्न थालेको छ। यस्तै अवस्था जिल्लाभर देखिएको छ, जहाँ एक सयभन्दा बढी झोलुङ्गे पुल प्रयोगमा आउन छाडेका छन्। सडक सञ्जाल विस्तार, गोरेटो बाटो लोप हुनु र खोलामा पक्की पुल निर्माण हुनु यसका मुख्य कारण हुन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठेखोलामा मात्रै हालै तीन वटा मोटरेबल पुल निर्माण गरिसकेको छ। गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर २ भिमपोखरा जोड्ने लामाबगरमा तीन वर्षअघि तीन करोड ३१ लाख लागतमा बनेको पक्की पुलपछि छेउकै झोलुङ्गे पुल प्रयोगमा आउन छाडेको छ। काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यावश्यक मानिने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगविहीन बनेको बताउनुभयो।
“काठेखोला गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा तीन वटा पक्की पुल बने। पक्की पुलका कारण छेउमै रहेका झोलुङ्गे पुल प्रयोगमा आउन छोडेका छन्,” थापाले भन्नुभयो। “पहिले यात्रु झोलुङ्गे पुलबाट हिँड्थे र सवारीसाधन खोला हुँदै आवतजावत गर्थे। अहिले पक्की पुल बनेपछि झोलुङ्गे पुलको आवश्यकता घटेको छ। गाउँपालिकाले प्रयोगमा आउन सक्ने स्थानमा झोलुङ्गे पुल स्थानान्तरण गर्ने योजना बनाएको छ।” उहाँका अनुसार गोरेटो बाटो मेटिँदा त्यहाँ रहेका अन्य पाँच झोलुङ्गे पुल पनि जीर्ण बनेका छन्।
मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा निर्माण भएका दर्जनभन्दा बढी पक्की पुलका कारण धेरै झोलुङ्गे पुल प्रयोगविहीन भएका छन्। गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोलामा पक्की पुल बनेपछि छेउकै झोलुङ्गे पुल प्रयोगमा आउन छाडेको छ। काठेपुल कुहिन थालेको छ भने लठ्ठामा खिया लागेको छ। अहिले पैदलयात्रीसमेत सहजताका लागि पक्की पुल नै प्रयोग गर्ने गरेका छन्।
बडिगाड गाउँपालिका क्षेत्रमा पर्ने लब्दीखोला र भिमगाड खोलामा मोटरेबल पुल बनेपछि त्यहाँका झोलुङ्गे पुल पनि प्रयोगमा आउन छाडेका छन्। स्थानीय नवीन रानाका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत बनेका एक दर्जन मोटरेबल पुलका कारण कम्तीमा १० वटा झोलुङ्गे पुल विस्थापित भएका छन्।
बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नम्बर १० भकुण्डेसम्म जोड्ने सडकमा काठेखोलामाथि पक्की पुल बनेपछि त्यहाँको झोलुङ्गे पुल काम नलाग्ने अवस्थामा पुगेको छ। यस्तै बागलुङ बजारदेखि तित्याङ जोड्ने लामो झोलुङ्गे पुल बनेपछि त्यही क्षेत्रमा रहेको अर्को छोटो झोलुङ्गे पुल पनि विस्थापित भएको छ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले आवश्यकताअनुसार प्रयोगमा आउन सक्ने झोलुङ्गे पुललाई अन्य स्थानमा स्थानान्तरण गर्ने नीति आवश्यक रहेको बताउनुभयो। उहाँले दुर्गम क्षेत्रमा अझै पुल अभाव भएकाले प्रयोगमा नआएका तर राम्रो अवस्थामा रहेका पुलहरू स्थानान्तरण गर्न संघीय वा प्रदेश सरकारले नीति ल्याउनुपर्नेमा जोड दिनुभयो।
बागलुङमा साना तथा ठूला गरी करिब १५० भन्दा बढी झोलुङ्गे पुल प्रयोगमा आउन छाडेको अनुमान छ। जिल्लाभर ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको तथ्याङ्क छ। सडक विस्तारसँगै पदमार्गमा रहेका पुलहरू स्वतः प्रयोगविहीन बन्न पुगेका छन्।