भवानीदत्त भट्ट
कञ्चनपुर, चैत ९ गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत ६ महिनादेखि गणित विषयको पठनपाठन अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी मिलानमा भएको विवादका कारण पठनपाठन प्रभावित बनेको हो ।
गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं. २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा गणित शिक्षक कृपाराम उपाध्यायलाई दरबन्दी मिलान तथा व्यवस्थापनका लागि गणेश माध्यमिक विद्यालय, मोहनपुर भुर्सामा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले तयार पारेको प्रस्तावका आधारमा गाउँपालिका अध्यक्ष हरिसचन्द्र रानाले गणित विषयका स्थायी शिक्षक उपाध्यायलाई गणित विषयको स्थायी दरबन्दी नै नभएको गणेश माविमा राहत दरबन्दीमा मिलान गर्ने निर्णय गरेपछि उपाध्याय असन्तुष्ट बन्नुभएको थियो ।
वि.सं.२०७६ देखि रौलेश्वर माविमा गणित शिक्षक तथा प्रधानाध्यापक रहनुभएका उपाध्यायले उक्त निर्णयविरुद्ध प्रशासकीय अदालतमा निर्णय खारेजीको माग गर्दै निवेदन दर्ता गर्नुभएको थियो । अदालतले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०८२, शिक्षा नियमावली, २०५९, शिक्षक सरुवा निर्देशिका, २०८१ तथा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ विपरीत पदस्थापन गरिएको ठहर गरेको छ ।
अदालतले उपाध्यायलाई रौलेश्वर माविमै अध्यापन गराउन आदेश दिएको भए पनि गाउँपालिकाले उक्त आदेशविरुद्ध पुनरावेदन दिएको थियो । पुनरावेदनको टुङ्गो नलाग्दासम्म उपाध्यायलाई यथास्थितिमा राख्न अदालतले गत कात्तिक २७ गते अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेश अवज्ञा, तलबसमेत रोक्का
अदालतको आदेश अवज्ञा गर्दै गाउँपालिका अध्यक्ष राना र शिक्षा शाखा प्रमुख जोशीले उपाध्यायलाई गणेश माविमा अध्यापन गराउन दबाब दिएको गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बताउनुभयो । कार्यविधिविपरीत निर्णय नगर्न आग्रह गर्दा पनि मनोमानी भएको उहाँको भनाइ छ ।
गणेश माविमा गणित शिक्षक अभाव हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको छ । साथै, शिक्षा शाखाले विगत ६ महिनादेखि उपाध्यायको तलबसमेत रोक्का गरेको पाइएको छ । रौलेश्वर माविमा अध्यापन गराउँदै आउनुभएका उपाध्यायले लामो समयदेखि तलब नपाएको गुनासो गर्नुभएको छ ।
यता, शिक्षा शाखा प्रमुख जोशीले गणेश माविमा शिक्षक अभाव भएपछि उपाध्यायलाई पठाउन खोजिएको तर नजाँदा समस्या भएको बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि नियमित पठनपाठन सञ्चालन गर्न पहल गरिने उहाँको भनाइ छ । साथै, केही दिनभित्रै फागुनसम्मको तलब खातामा पठाइने पनि उहाँले जानकारी दिनुभयो ।