• ९ चैत २०८२, सोमबार

‘नतिजामा प्रतिस्पर्धा गर्ने संस्कृति विकास गर्नु पर्छ’

blog

अमरराज नहर्की

तनहुँ, चैत ९ गते । तीन दशक लामो इन्जिनियरिङ र प्राज्ञिक क्षेत्रको अनुभव सँगालेका श्रीराम न्यौपाने तनहुँ क्षेत्र नं. २ बाट सङ्घीय संसद्को यात्रा तय गर्न सफल हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार न्यौपानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले ३२ हजार ६८७ मत प्राप्त गर्दा भण्डारीले १४ हजार १३५ मत प्राप्त गर्नुभएको थियो । न्यौपानेले नीतिनिर्माण तहमा विज्ञताको हस्तक्षेप आवश्यक रहेको बताउँदै राजनीतिमा आएको बताउनुभयो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा विभाग प्रमुखसमेत हुनुहुन्छ । 

विसं २०२६ असार २१ गते तनहुँको भानु नगरपालिका–५, सेपाबगैँचामा जन्मिएका न्यौपानेको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरु भएको थियो । २०४४ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका तर्फबाट स्ववियु सदस्य, सहसचिव हुँदै उहाँ अध्यक्ष भएर क्रियाशील रहनुभएको थियो । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

नेपालको पहिलो सबस्टेसनसहित सबै संरचना भूमिगत रहेको जलविद्युत् आयोजनामा आयोजना निर्देशकको जिम्मेवारी समाल्दै करिब १५ किलोमिटर सुरुङ निर्माणमा आफूले नेतृत्व प्रदान गरेको पनि उहाँले बताउनुभयो । 

विसं २०६२/६३ को जनआन्दोलनपछि गठन भएको संविधान सभाका ६०१ सदस्यका लागि निःशुल्क इन्टरनेट र इमेल तालिम कार्यक्रम सञ्चालनमा उहाँको भूमिका थियो । त्यसै गरी सरकारी विद्यालयका शिक्षकलाई निःशुल्क कम्प्युटर तालिम तथा कम्प्युटर वितरण कार्यक्रममार्फत सूचना प्रविधिको पहुँच विस्तारमा उहाँले योगदान दिनुभएको थियो । 

इन्जिनियरिङ शिक्षाको विस्तारका लागि दुई वटा इन्जिनियरिङ कलेज स्थापना प्रक्रियामा आफूले महत्वपूर्ण काम गरेको उहाँले बताउनुभयो । ऊर्जा नीतिनिर्माण तथा अनुसन्धानका क्षेत्रमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ । 

पहिलो पटक संसदीय यात्रामा लागेका न्यौपानेले अबको समय भाषणको नभई नतिजाको भएको बताउनुभयो । उहाँले रास्वपाको जितसँगै अब काम र नतिजामा प्रतिस्पर्धा गर्ने संस्कृति विकास हुने विश्वास व्यक्त गर्नुभयो ।