रमेश विश्वकर्मा
गुल्मी, वैशाख १६ गते। गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो। यस वर्ष क्षेत्रफल घटेर १५४ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा १८० हेक्टर क्षेत्रफलमा ७२४ मेट्रिकटन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो। २०७९/८० मा ३४१ हेक्टर क्षेत्रफलमा एक हजार ५८१ मेट्रिकटन धान उत्पादन भएको थियो। चैतको पहिलो साताबाट धान रोप्न सुरु गरेर चैतको अन्त्यसम्म धान रोप्ने गरिन्छ। चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ।
कामदारको अभाव, शुख्खा, खडेरी गाउँमा कृषि काम गर्ने जनसंख्या घट्दै जाँदा चैते धान लगाउने क्षेत्रफल घटदै गएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनुभयो। त्यसैगरी मानिसको बसाइसराइले उत्पादन गर्ने जनशक्ति नहुँदा खेती गर्ने क्षेत्रफल हरेक वर्ष घट्दै गएको बताइएको छ। यस जिल्लामा चैते धान रोपेको ठाउँमा पुनः वर्षे धान रोप्ने गरिन्छ।
पछिल्ला केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको पाइन्छ। सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसान आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ। हिउँदमा वर्षा नभएकाले चैते धानको खेती र उत्पादनमा पनि कमी हुँदै गएको छ। चैते धानको रुपमा स्थानीय मार्सी, सिएच ४५ चैते, हर्दिनाथ १ रोपिन्छ। हाइब्रिड धान शङ्कर, उपज, च्याम्पियन, यूएस ३१२ रोपिन्छ।
यस जिल्लामा विशेषगरी स्थानीय हंसराज, आपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठुलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लोई, पाखे धान, रातो मार्सी धान, मार्सी खेती गरिन्छ। कम उत्पादन दिने भएता पनि उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने भन्दै किसानको रोजाइमा ती धान पर्छन्।
कतिपय धानको चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैँले यी बिउँलाई निरन्तरता दिइरहेको पाइएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिकाको दम्का, छत्रकोट गाउँपालिकाको अगाहाँ÷मनवाग, धुर्कोट गाउँपालिकाको रोधी, गुल्मीदरबार गाउँपालिकाको खज्र्याङ्ग, इस्मा गाउँपालिकाको चौरासी क्षेत्रमा चैते धान खेती गरिन्छ।
त्यसैगरी कालीगण्डकी गाउँपालिकाको अर्वेनी, मदाने गाउँपालिकाको सिम, मालिका गाउँपालिकाको सिमलटारी, मुसिकोट नगरपालिकाको आँपचौर, भुवाचिदी, रेसुङ्गा नगरपालिकाको गुट, म्यालघाँट, रुरुक्षेत्र गाउँपालिकाको घ्यूवेसी र सत्यवती गाउँपालिकामा हँसरा, चेमी, जोहाङ, क्षेत्रमा चैते धान खेती गरिने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।