नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख १६ गते । बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ पूर्वाधार विकास आयोजना कार्यान्वयनको चरणमा पुर्याएको छ । आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजित १७१ पूर्वाधार विकास आयोजनामध्ये हालसम्म १२४ आयोजना सम्झौता भई कार्यान्वयनमा गएका हुन् ।
हालसम्म ४७ आयोजना सम्पन्न भइसकेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी दिलाराम बाँठा मगरले जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचनका कारण केही ढिलाइ भए पनि विकास निर्माणका अधिकांश आयोजना कार्यान्वयनमा गएको उहाँको भनाइ छ ।
गत माघ र फागुनमा विकास निर्माणका कामले गति लिन नसके पनि चैत महिनादेखि तीव्रता पाएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “धमाधम काम भइरहेको छ, वडागत रूपमा विनियोजन भएका विकास निर्माणका योजना कार्यान्वयनको चरणमा पुगेका छन् । सीमित स्रोतसाधनका बाबजुद पनि गाउँपालिकाले अधिकतम प्रगति हासिल गरेको छ ।”
उहाँका अनुसार गाउँपालिकाको प्रशासनिक भवन अपुग भएकाले एक तला ट्रस्ट छानोसहित थप्ने तयारी गरिएको छ । पाँच वटा ठूला सडक स्तरोन्नति आयोजना ठेक्कामार्फत सञ्चालन भइरहेका छन् । सेवा प्रवाहलाई चुस्त बनाउँदै बेरुजु घटाउने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार कर्मचारीको समूहगत कार्य र जनप्रतिनिधिको समन्वयका कारण बेरुजु घट्दै गएको छ । सात वटा वडामध्ये केहीमा चारदेखि १५ वटासम्म आयोजनाले तीव्रता पाएका छन् ।
वडागत रूपमा विकास आयोजना उल्लेखनीय रूपमा अगाडि बढेका छन् । वडा नं. ६ मा दुई वटा आयोजना सम्पन्न भएका छन् भने वडा नं.७ मा १५ वटा आयोजना कार्यान्वयनमा छन् । अधिकांश आयोजना वडाको आवश्यकता अनुसार तय भएकाले कार्यान्वयन प्रभावकारी भएको उहाँको भनाइ छ ।
गाउँपालिकाले समयमै आयोजना सम्झौता र सम्पन्न गर्ने लक्ष्य लिएको छ । समयमै काम सम्पन्न गरी अनुगमनपछि भुक्तानी गर्दा बेरुजु घटाउन सहयोग पुगेको बताइएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा करिब सात करोड बेरुजु घटाएको जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म रु। एक करोड १० लाख बेरुजु घटाइसकिएको प्रमुख प्रशासकीय अधिकृत पुनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष सात करोड बेरुजु घटाइएको थियो, चालु वर्षमा पनि निरन्तर घट्दै गएको छ । कार्यालय व्यवस्थापन र कर्मचारीको कार्यसम्पादनले बेरुजु नियन्त्रणमा सहयोग पुगेको छ ।”
गाउँपालिकाले उपभोक्ता समितिलाई अभिमुखीकरण गर्दै विकास कार्यलाई पारदर्शी बनाउने पहल गरेको छ । आवश्यक कागजात पूरा गर्ने र लागतअनुसार काम गर्ने अभ्यास बढ्दै जाँदा बेरुजु घट्दै गएको छ ।
गाउँपालिकाले प्रशासनिक भवन थपका लागि ५० लाख र रिग ताल संरक्षणका लागि पनि ५० लाख रुपियाँ विनियोजन गरेको छ ।