जनार्जन खत्री
सर्लाही, वैशाख १६ गते । सलेमपुर–हीरापुर सडक सर्लाहीको सबैभन्दा चर्चित र ऐतिहाँसिक सडकका रुपमा चिनिन्छ । तत्कालिन जिल्ला विकास समिति (जिविस) कायम रहँदा यो सडकका लागि बजेट ल्याएर माटो, गिट्टी हाल्ने र केही समयपछि सडक फेरि उस्तै भएर अर्को समूह बजेट माग्न जाने परिपाटी थियो । दर्जनौँ नेता जन्माएको सलेमपुर–हीरापुर सडक अहिलेसम्म पनि धुलाम्मे अवस्थामै छ ।
कविलासी नगरपालिकास्थित सलेमपुर चोकदेखि बरहथवा नगरपालिकाको हीरापुर ब्यारेजमा निस्कने १८.९१ किलोमिटर यो सडकको यात्रा अहिलेसम्म पनि कष्टपूर्ण नै रहेको स्थानीयले गुनासो गरेका छन् । बरहथवा नगरपालिका–११, हीरापुरका बद्री साहले सलेमपुर–हीरापुर सडक खण्ड अहिलेसम्म पनि जरजर अवस्थामा रहेकाले सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्नुपर्दा असाध्य सास्ती बेहोर्नुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो ।
ग्राभेल सडकमा अत्यधिक धुलो उड्ने र खाल्डाखुल्डी पनि उत्तिनै रहेकाले जोखिमपूर्ण किसिमले यात्रा गर्नुपर्ने अवस्था रहेको साहको भनाइ छ । उहाँले भन्नुभयो, “घाम लागेको समयमा त यो सडकमा धुलो उडेर यात्रा गर्न असाध्य कठीन हुन्छ ।”
सलेमपुर चोकदेखि पोखरियासम्मको सडक कालोपत्रे भए पनि त्यहाँदेखि हीरापुर ब्यारेजसम्म सडकको अवस्था दयनीय रहेको स्थानीयले गुनासो गरेका छन् । कविलासी नगरपालिका–६, जमुनियाँका विनोद ठाकुरले सलेमपुरतर्फ जान सडक कालोपत्रे भए पनि हीरापुर ब्यारेजतर्फ निस्कने खण्ड असाध्य जीर्ण हुँदा सास्ती खेप्नु परिरहेको बताउनुभएको छ ।
सलेमपुर–हीरापुर सडक भएर सर्लाहीको पश्चिमी भेगमा पर्ने बरहथवा, हीरापुर, मुर्तिया, हजरिया, लौकठ, सुन्दरपुरचोहर्बालगायत भेगका वासिन्दालाई सदरमुकाम मलङ्गवासम्म आउन गर्न छोटा दुरी परे पनि सडकको अवस्था दयनीय छ । सडकको दायाँबायाँ पर्ने पर्ने दर्जनौँ गाउँका वासिन्दा सडकको जरजर अवस्था र धुलोका कारण हैरान छन् ।
२०५० सालमा आएको भीषण बाढीले सडक बगाएपछि २०५४–२०५९ का जनप्रतिनिधिले सडकको बेस राख्ने काम गरेर सवारी आवागमनको व्यवस्था मिलाएका थिए । त्यसबेला ‘कामका लागि खाद्यान्न’ भन्ने शीर्षकको बजेटले जिल्लाको ऐतिहाँसिक सलेमपुर–हीरापुर सडकमा फाउन्डेसनको काम गरिएको थियो ।
जिल्लाभरको बजेट चलाउने जिविस हुँदा यही सडकका लागि बजेट माग गर्न बारम्बार धाउने नेताहरु सांसद, मन्त्रीसमेत भइसकेका छन् । यसै क्षेत्रका प्रदेशसभा सदस्य एवं मधेश प्रदेशका पूर्व अर्थमन्त्री सञ्जयकुमार यादव आफूले बजेट हालेर कालोपत्रे गरेकै कारण सलेमपुर चोकदेखि पोखरियासम्मको सडक हिँड्न् हुने भएको दावी गर्नुहुन्छ ।
यादवले यस क्षेत्रबाट सङ्घीय सांसद भइ चार वर्षजति मन्त्री हुनुभएका रामेश्वर राय यादव र दुई वर्ष मन्त्री बन्नुभएका हरिप्रसाद उप्रेतीले यो सडकलाई पुरै बेवास्ता गरेर एक रुपियाँ बजेट पनि विनियोजन नगराएको आरोप लगाउनुभएको छ । “यस क्षेत्रबाट निर्वाचित यसअघिका दुवै जना सांसद मन्त्री हुनुभयो तर सडकका लागि एक रुपियाँ पनि बजेट पार्नुभएन”, प्रदेश सभा सदस्य यादवले भन्नुभयो, “मैले पनि प्रदेशबाट बजेट नछुट्याएको भए सडकको अवस्था अझ दयनीय हुन्थ्यो ।”
जिविसबाट बजेट चल्ने समयमा सलेमपुर–हीरापुर सडकका लागि वर्सेनि पाँच/सात लाख रुपियाँ बजेट बिनियोजन हुन्थ्यो । त्यसबेला एउटा गाविसको बजेट बराबर यो सडकका लागि पैसा आउने गरे पनि उपभोक्ता समितिले प्रभावकारी काम नगरिदिँदा अहिलेसम्म सास्ती नै खेप्नु परिरहेको स्थानीयले गुनासो गरेका छन् ।
सलेमपुर–हीरापुर सडक अहिले मधेश प्रदेश सरकार मातहत रहेको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवाका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर बिजय यादवका अनुसार यो सडकका लागि यस वर्ष कुनै प्रकारको बजेट विनियोजन भएको छैन् ।