ओखलढुङ्गा समाचारदाता
ओखलढुङ्गा, वैशाख १६ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकालगायतका प्रभावित क्षेत्रका स्थानीयले लिखु–४ जलविद्युत् आयोजनाबाट परेको दीर्घकालीन असरप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।
आयोजनाको प्रवर्धक कम्पनी ग्रिन भेन्चर्स प्रालिविरुद्ध प्रभावित नागरिकले कडा आन्दोलनको चेतावनी दिएका छन् । खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई सम्बोधन गर्दै नागरिक समाजले बुझाएको निवेदनमा आयोजनाले बर्सौंसम्म पनि सहमति अनुसारका काम पूरा नगरेको आरोप लगाइएको छ । ओखलढुङ्गा र रामेछापको दोसाँध क्षेत्रमा निर्माण भएको सो आयोजना हाल केन्द्रीय प्रसारण लाइनमा जोडिएर करिब ५२.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।
उत्पादन सुरु भए पनि प्रभावित क्षेत्रका बासिन्दाले अपेक्षित लाभ पाउन नसकेको गुनासो गरेका छन् । आयोजनाबाट जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २, ३, र लिखु गाउँपालिकाका केही वडा तथा रामेछापका विभिन्न बस्ती प्रभावित भएका छन् । स्थानीयका अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका प्रतिबद्धता कार्यान्वयन नभएकाले बस्ती नै जोखिममा परेको छ । कतिपय स्थानमा बसाइँसराइ सुरु भएको र वातावरणीय असन्तुलन बढ्दै गएको उनीहरूको दाबी छ । निवेदनमा लेती खोला–जिलीडाँडा सडक कालोपत्रे गर्ने, लिम्ती–बिमिरे तथा लिम्ती–जिमी सडक स्तरोन्नति गर्ने प्रतिबद्धता पूरा नभएको उल्लेख छ ।
सडक निर्माणका कारण पानीका मुहान सुक्दै गएको र लिम्ती–बिमिरे ११ केभी प्रसारण लाइनबाट अझै विद्युत् सेवा नपुगेको गुनासो गरिएको छ । स्थानीयले क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न, नदीमा पर्याप्त पानी छोड्न, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न र स्थानीय सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । उता बढ्दो असन्तुष्टिपछि खिजिदेम्बा गाउँपालिकाले आयोजनाको प्रवर्धक कम्पनीसँग स्पष्टीकरण मागेको छ । गाउँपालिकाले कम्पनीका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित आगामी वैशाख १७ भित्र उपस्थित भई जवाफ दिन अल्टिमेटम दिएको छ ।