• १६ वैशाख २०८३, बुधबार

हुवास–लुङ्खु सडक कालोपत्रे

blog

फलेवास समाचारदाता 

पर्वत, वैशाख १६ गते । जिल्लाको दक्षिणी क्षेत्रलाई जोड्ने महत्वपूर्ण हुवास–लुङ्खु सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । निर्माण सुरु भएको झन्डै छ वर्षपछि सडक कालोपत्रे भएको हो । कालोपत्रे भएसँगै बर्सौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासी खुसी भएका छन् । 

ग्रामीण सडक सञ्जाल सुधार आयोजना परियोजना अन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजना अनुसार निर्माण सुरु भएको थियो । सरकार र एसियाली विकास बैङ्क (एडिबी) को संयुक्त लगानीमा निर्माण सुरु गरिएको उक्त सडकखण्ड विभिन्न कारणले पटक पटक प्रभावित बन्दै आएको थियो । 

महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैयुँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । निर्माणका लागि कुल ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । 

निर्माण सुरु भएपछि कोभिड–१९ महामारी, लगातार वर्षाले सडक क्षति तथा भौगोलिक जटिलताका कारण कामले अपेक्षित गति लिन सकेको थिएन । कतिपय समयमा पहिरो, सडक कटान तथा मौसम प्रतिकूलताले निर्माण पर धकेलिएको थियो तर पछिल्लो चरणमा तीव्र गतिमा काम अघि बढाइएपछि सडक कालोपत्रे सम्पन्न भएको हो । यो सडक दक्षिणी पर्वतका बासिन्दाका लागि अत्यन्तै महìवपूर्ण मानिन्छ । महाशिला र पैयुँ गाउँपालिकालगायतका स्थानीय तहका बासिन्दालाई जिल्ला सदरमुकाम कुस्मा, सरकारी कार्यालय, बैङ्क, अस्पताल तथा व्यापारिक केन्द्रसम्म पुग्न यही सडक मुख्य आधार रहँदै आएको छ । अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको छ ।

स्थानीय द्रोण पौडेलले भन्नुभयो, “यसअघि हिउँदमा धुलो र बर्खामा हिलोका कारण यात्रा निकै कष्टकर हुने गर्दथ्यो । बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या तथा कृषकले उत्पादन बजारसम्म पु¥याउन सास्ती खेप्नु पथ्र्यो । अब भने ती समस्या धेरै हदसम्म कम हुने विश्वास गरिएको छ ।”

सडक कालोपत्रे भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पु¥याउन सक्ने छन् । यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने देखिएको छ । व्यवसायीले पनि सडक स्तरोन्नतिले व्यापारिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेका छन् । नियमित यातायात सञ्चालन भएपछि गाउँसहर आवतजावत बढ्ने, उपभोग्य वस्तुको ढुवानी सहज हुने र बजारसँगको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ । 

पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सडक पूर्वाधार विकासको मुख्य आधार भएको उल्लेख गर्दै सडक सहज भएपछि स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन मात्र नभई रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुने बताउनुभयो । 

अध्यक्ष ठकुरीले राम्रो सडक सञ्जालले व्यापार, पर्यटन, कृषि तथा लगानीका क्षेत्रलाई चलायमान बनाउने भन्दै यसबाट गाउँमै आर्थिक गतिविधि बढ्ने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्नसमेत सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले सडक विकाससँगै दक्षिणी पर्वतको समृद्धिको यात्रा थप बलियो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।