• १६ वैशाख २०८३, बुधबार

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा

blog

नियन्त्रणमा लिइएका चर्को आवाज निकाल्ने मोटरसाइकल । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १६ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटले चर्को आवाज निकाल्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउँदै सञ्चालनमा रहेका मोटरसाइकलहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले गौर नगरपालिका क्षेत्रभित्र गस्ती गर्ने क्रममा विभिन्न चोक, बजार तथा हाट क्षेत्रबाट तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक बस्यालका अनुसार मोटरसाइकलमा धुवाँ फाल्ने साइलेंसर, भाइजर, सिट, लेगार्डलगायतका पार्टपुर्जा परिवर्तन गरी ठुलो आवाज निकाल्ने बनाइएको थियो ।

स्वरूप परिवर्तन गरिएका सवारी साधनले ध्वनि प्रदूषण फैलाउनुका साथै सडकमा हिँडडुल गर्ने सर्वसाधारणलाई असुविधा पुगेको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटका बीआर–०६ डीजे–९९३५ नम्बरको यामाहा, बीआर–०६ डीसी–८३९८ नम्बरको एमटी–१५ र ना ४१ प ४८७३ नम्बरको एफजेड मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।