तनहुँ समाचारदाता
तनहुँ, वैशाख १६ गते । व्यास नगरपालिका दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट उदाहरण बनेको छ । नगरपालिकाले सक्रियता देखाएपछि विगतमा हराउँदै गएका प्रकृतिका कुचीकार गिद्धहरू बथानसहित यहाँ फर्किन थालेका छन् ।
प्रकृतिको खाद्यचक्रलाई सन्तुलित राख्न नगरपालिकाले सञ्चालन गरेको गौसंरक्षण केन्द्रमा मरेका गाईगोरुलाई सुरक्षित रूपमा गिद्धको आहारा बनाउने व्यवस्था गरेपछि यहाँ नौ प्रजातिका करिब सय गिद्ध दैनिक देखिन थालेका हुन् । नगरप्रमुख वैकुण्ठ न्यौपाने गिद्ध संरक्षणको यो प्रयासलाई नगरपालिकाको सबैभन्दा मानवीय र प्राकृतिक गौरवको अभियान मान्नुहुन्छ । आहाराको अभाव टरेपछि गिद्धको प्रजनन दरमा सुधार हुँदा गिद्धको संरक्षणमा सफलता मिलेको उहाँ बताउनुहुन्छ । न्यौपाने भन्नुहुन्छ, “हामीले केवल भौतिक पूर्वाधारलाई मात्र विकास ठानेनौँ । प्रकृतिमा रहेका हरेक प्राणीको बाँच्न पाउने अधिकार र उनीहरूको सहअस्तित्वलाई पनि उत्तिकै सम्मान गरेका छौँ ।” नगरपालिकाले यस अभियानका लागि वार्षिक १५ लाख रुपियाँसम्म बजेट विनियोजन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
केन्द्रमा कार्यरत कर्मचारीको पारिश्रमिक, गाईको दाना, औषधी र पूर्वाधार सुरक्षामा नगरपालिकाले निरन्तर लगानी गरिरहेको छ । केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाले गरेको यो कामले यहाँको पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाएको छ । यस काममा स्थानीय र राष्ट्रिय निकायको पनि उत्तिकै साथ छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सिनोलाई गिद्धका लागि सुरक्षित बनाउन प्राविधिक सहयोग गरिरहेको छ भने तनहुँ जलविद्युत् आयोजनाले गिद्ध बस्नका लागि अग्ला खम्बाको व्यवस्था गरिदिएको छ । आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो सहयोगले गिद्धको वासस्थान सुरक्षित बनाउन मद्दत पुगेको छ ।