• १६ वैशाख २०८३, बुधबार

ताप्लेजुङमा कुलमान घिसिङलाई स्वागत र सम्मान

blog

फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलमा पूर्वमन्त्री कुलमान घिसिङलाई स्वागत गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १६ गते ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई ताप्लेजुङमा स्वागत गरिएको छ । ताप्लेजुङको भ्रमणमा आउनुभएका घिसिङलाई फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलले मङ्गलबार स्वागत गरेको हो ।

नेपाललाई लोडसेटिङमुक्त बनाउन घिसिङले खेल्नुभएको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै उहाँलाई स्वागत गरिएको लिटलबुद्ध बोर्डिङका प्रिन्सिपल युवराज गिरीले बताउनुभयो । विद्यालयमै एक कार्यक्रम आयोजना गरी उहाँलाई स्वागत तथा सम्मान गरिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो ।

घिसिङको स्वागत तथा सम्मानसँगै उहाँको उपस्थितिमा विद्यालयमा समसामयिक विषयमा अन्तरक्रियासमेत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी लगायतको सहभागितामा अन्तरक्रिया गरिएको प्रिन्सिपल गिरीले बताउनुभयो । घिसिङ कार्यकारी निर्देशक रहेकै बखत ताप्लेजुङमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।

पूर्वमन्त्री घिसिङले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गर्नुभएको छ । मङ्गलबार बिहान पाथीभरा दर्शन गर्न पुग्नुभएका घिसिङलाई पाथीभरा क्षेत्र विकास समितिले पनि पाथीभरा देवीको तस्बिर अङ्कित मायाको चिनो दिएर स्वागत तथा सम्मान गरेको छ । हाल घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष हुनुहुन्छ ।