• १६ वैशाख २०८३, बुधबार

दस वर्षपछि सामाजिक सञ्जालमार्फत हराएका छोरा भेटिए

blog

हराएका छोरा भेटिएपछि खादा लगाएर स्वागत गर्दै आफन्त । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, वैशाख १६ गते ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थाली गाउँका जैधन रावलका छोरा विजय रावल दस वर्षपछि सकुशल फेला परेका छन् । १३ वर्षको उमेरमा हराएका विजय रावल २३ वर्षको उमेरमा सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएपछि सकुशल भेटिएको उनका बुबा जैधन रावलले बताउनुभयो ।

दस वर्षसम्म भारतको दिल्लीमा बस्दै आएका विजय रावलले अस्ट्रेलियामा रहेकी आफ्नी दिदी बुना रावलसँग फेसबुकमार्फत सम्पर्क स्थापना गरेपछि परिवारसँग पुनः सम्पर्क भएको बुबा रावलले जानकारी दिनुभयो । अस्टेलियामा बस्दै आएकी दिदी बुना रावलले नेपालमा रहेका आमा–बुबालाई आफ्नो भाइ विजय रावल भारतको दिल्लीस्थित शिवपुर क्षेत्रमा रहेको जानकारी गराउनुभएको थियो ।

छोरीमार्फत छोरा फेला परेको जानकारी पाएपछि बुबा रावल खोजीका लागि भारत जानुभएको थियो । २०७४ सालमा हराएका विजय रावल २०८३ साल वैशाख १४ गते भारतको दिल्लीस्थित शिवपुर क्षेत्रमा आफू र खार्पुनाथ गाउँपालिका–३ का बलवीर रावल पुगेर सकुशल भेटिएको उहाँले जानकारी दिनुभयो ।

हालसम्म भारतमा साहुको घरमा काम गर्दै जीविकोपार्जन गर्दै आएका विजय रावललाई दिल्लीको शिवपुरबाट सकुशल अवस्थामा उद्धार गरी नेपाल ल्याइएको स्थानीय बलवीर रावलले जानकारी दिनुभयो ।

लामो समयसम्म छोरा भेटिन्छ भन्ने आशा नै हराइसकेको अवस्थामा अचानक भेटिएपछि परिवारमा खुसीको आँसु आएको बुबा रावलले बताउनुभयो । छोरा भेटिएपछि आफूले विगतका सबै पीडा भुलेर अत्यन्त खुसी भएको उहाँको भनाइ छ ।

त्यतिबेला जैधन रावलले सदरमुकाम सिमकोटमा खुद्रा पसल सञ्चालन गर्दै जीविकोपार्जन गर्दै आउनुभएको थियो । २०७४ साल वैशाखमा छोरा विजय रावल अचानक घरबाट हराएका थिए । त्यसपछि उनको कुनै सम्पर्क हुन सकेको थिएन ।

छोराको खोजीका लागि नेपालका विभिन्न जिल्लाका प्रहरी कार्यालयमा फोटोसहित निवेदन दिइएको र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सूचना प्रसारण गरिए पनि कुनै जानकारी नपाइएको बुबा रावलले गुनासो गर्नुभयो ।