एसइई दिएर बसेका धेरै विद्यार्थीका लागि ‘अब के पढ्ने ?’ भन्ने प्रश्नले पछ्याइरहेको हुन्छ । छोटो समयमा सिप सिकेर आफ्नो व्यक्तिगत, घरपरिवार, समाजसँगै देशको समृद्धिका लागि केही गर्नु छ भन्ने चाहना छ ? छ भने अब तपाईंहरूका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा रोज्नु नै उत्तम विकल्प हुने छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयले परिषद् अन्तर्गत सञ्चालन हुने प्री डिप्लोमा तथा डिप्लोमा तहका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा अध्ययन गर्न इच्छुक विद्यार्थीका शिक्षालयमा भर्ना हुन व्यवस्थित र समयबद्ध बनाउने प्रयासस्वरूप शैक्षिक सत्र २०८३/८४ का लागि प्रवेश प्रक्रिया तथा भर्नासम्बन्धी मार्गदर्शन जारी गरेको छ । यस वर्षको भर्नासम्बन्धी मार्गदर्शनले विद्यार्थीलाई प्राविधिक शिक्षाका कार्यक्रममा भर्ना हुन सहज बनाउने उद्देश्यसाथ एसइईको नतिजा प्रकाशन भएको दिनबाट नै भर्ना हुन सक्ने गरी नीति तथा कानुनी प्रबन्ध गरेको छ ।
एसइई दिएका विद्यार्थी पढ्दै, सिक्दै र छोटो समयमा छिटो कमाउने बन्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने परिषद् अन्तर्गत सञ्चालित प्री डिप्लोमा तहका कार्यक्रम तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छन् । यस तहमा १९ वटा प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालित छन् । सिप सिक्दै काम गर्ने संस्कृतिको विकास गर्न यसप्रकारका कार्यक्रमको निकै महत्व छ । कृषितर्फ पशु विज्ञान, बाली विज्ञान, पशुपालन तथा पशु स्वास्थ्य, चिया प्रविधिका कार्यक्रम सञ्चालन छन् । इन्जिनियरिङतर्फ अटोमोबाइल, सिभिल, कम्प्युटर, विद्युत्, इलेक्ट्रोनिक्स, मेकानिकल, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ र सर्भे इन्जिनियरिङ, सूचना प्रविधि तथा कार्यालय व्यवस्थापनतर्फ कम्प्युटर एप्लिकेसन तथा सचिवालय व्यवस्थापन र सूचना प्रविधिका कार्यक्रम सञ्चालनमा छन् । होटेल सेवा तथा आतिथ्य क्षेत्रतर्फ होटेल व्यवस्थापन, पाककला, सामाजिकतर्फ प्रारम्भिक बालविकास (इसिडी) र सामाजिक परिचालनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यस तहका कार्यक्रममा एसइईमा सहभागी सबैले भर्ना भई अध्ययन गर्न पाउँछन् ।
एसइईपछि व्यावहारिक र सुरक्षित भविष्य खोज्दै हुनुहुन्छ ? तपाईंलाई पढाइ, सिपसँगै करिअर र करिअरसँगै आत्मनिर्भर हुन परिषद् अन्तर्गत सञ्चालित लामो अवधिका डिप्लोमा तहका ३४ वटा प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालित छन् । कृषि तथा वन सङ्कायतर्फ पशु विज्ञान, वनस्पति विज्ञान, कृषि इन्जिनियरिङ र वन विज्ञानका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । खाद्यतर्फ फुड तथा डेरी टेक्नोलोजीको कार्यक्रम सञ्चालन हुँदै आएको छ । इन्जिनियरिङ सङ्कायतर्फ आर्किटेक्चर, अटोमोबाइल, सिभिल, सिभिल हाइड्रोपावर, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, जियोमेट्रिक्स, मेकानिकल, मेकाट्रोनिक्स, रेफ्रिजेरेसन तथा एयर कन्डिसनिङ, बायोमेडिकल इन्जिनियरिङका कार्यक्रम सञ्चालित छन् । सूचना प्रविधि र कम्प्युटर इन्जिनियरिङका कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।
डिप्लोमा तहमा स्वास्थ्य सङ्कायतर्फ नर्सिङ, जनरल मेडिसिन (एचए) मिडवाइफरी, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, डेन्टल साइन्स, फिजियोथेरापी, अप्थाल्मिक साइन्स, सामान्य आयुर्वेद चिकित्सा, अकुपङ्चर तथा मोक्सिबस्टन, योग तथा प्राकृतिक चिकित्साका कार्यक्रम सञ्चालित छन् । परिषद्बाट सञ्चालित स्वास्थ्य सङ्कायतर्फका यी कार्यक्रम अध्ययन गर्न एसइई परीक्षामा न्यूनतम २ जिपिए ल्याउने विद्यार्थीले प्रवेश प्रक्रियामा सहभागी हुन पाउने छन् । यस सङ्कायका कार्यक्रम अध्ययन गर्न विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयले तोकेको अनलाइन आवेदन फारम भर्नुपर्ने हुन्छ । एसइई परीक्षाको नतिजा प्रकाशन भएको दिनबाट नै १५ दिनसम्म आवेदकको आवेदन सङ्कलन हुने व्यवस्था गरिएको छ । आवेदन सङ्कलनको समयसीमा सकिएपश्चात् सफ्टवेयर प्रणालीबाट नै प्रशिक्षार्थीले एसइईमा प्राप्त स्तरीकृत अङ्कका आधारमा योग्यताक्रमसहितको नतिजा प्रकाशन हुने र सोको क्रमानुसार शिक्षालयले भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी योग्यताक्रम निर्धारण गर्दा सामुदायिक विद्यालयका विद्यार्थीलाई एक र संस्थागत विद्यालयकालाई ०.८५ अङ्क थप गरिने प्रावधान छ । जिपिए बराबर भएमा क्रमशः गणित, विज्ञान र अङ्ग्रेजी विषयको स्तरीकृत अङ्कका आधारबाट निर्धारण हुने छ । यसमा पनि अङ्क बराबर भएमा पिछडिएको तथा दुर्गम क्षेत्रबाट एसइई उत्तीर्ण हुने विद्यार्थीले अवसर पाउने नीतिगत व्यवस्था गरिएको छ । यसबाट पनि योग्यताक्रम निर्धारण हुन नसके विद्यार्थीको जन्ममितिका आधारमा बढी उमेर हुनेले अध्ययनको अवसर पाउने छन् । स्वास्थ्यका कार्यक्रममा अवलम्बन गरिएको एसइईको जिपिएका आधारबाट योग्यताक्रम निर्धारण गरी भर्ना गर्ने प्रक्रियाले भर्ना प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउने सन्देश दिएको छ । आवेदन सङ्कलनदेखि योग्यताक्रम निर्धारणसम्मका सम्पूर्ण प्रक्रिया सफ्टवेयर प्रणालीमार्फत सञ्चालन हुनेछ ।
परिषद् अन्तर्गत सञ्चालित प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रममा विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्तिका अवसरसमेत छन् । परिषद्का आङ्गिक शिक्षालयमा विगतका वर्षदेखि नै नेपाल सरकारबाट प्राप्त बजेटमा आधारित विपन्न दलित, मुस्लिम तथा सीमान्तकृत समुदायलाई निर्वाह भत्तासहित निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । परिषद् अन्तर्गतका सबै शिक्षालयमा सञ्चालित कार्यक्रममा भर्ना क्षमताको १० प्रतिशत जेहेनदारसहित वर्गीकृत छात्रवृत्तिको प्रावधान छ । प्राविधिक शिक्षामा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीका लागि यी कार्यक्रममा भर्ना भई अध्ययन अवसरसमेत छ ।
अब विद्यार्थीले पढाइ मात्र होइन, सिकाइसँगै कमाइ गर्न सक्ने प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम रोज्नु उपयुक्त हुने छ । यस धारका शिक्षाले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी उद्योग, व्यवसाय र कार्यस्थलमा सिक्ने अवसर दिने छ । जसले विद्यार्थीलाई तुरुन्त रोजगारयोग्य बनाउन आधार र सहयोग पुग्ने छ । समुन्नत नेपाल निर्माणका लागि कृषि, पर्यटन, निर्माण, जलविद्युत्, डिजिटल सेवामा आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्तिको माग उच्च छ ।
आजको समयले डिग्रीभन्दा सिप खोजिरहेको छ । हाम्रो देशमा निर्माण, जलविद्युत्, कृषि, सूचना प्रविधि, स्वास्थ्य, होटेल तथा सेवाक्षेत्रमा सिपयुक्त प्राविधिक जनशक्ति खाँचो छ । यस क्षेत्रमा रोजगारीका अवसर प्रशस्त छन् । परिषद् अन्तर्गत सञ्चालित छोटो तथा लामो अवधिका प्राविधिक कार्यक्रमले विद्यार्थीलाई रोजगार तथा स्वरोजगार हुन सहयोग पुग्ने छ ।
एसइई दिएर बसेका विद्यार्थी अब अलमलिनु हुन्न । कुनै प्रवेश परीक्षाको झन्झट र प्रक्रियागत ढिलाइबिना प्रवेश योग्यता भएका प्राविधिक शिक्षाका कार्यक्रममा सहभागी भई सिपमूलक शिक्षामा भर्ना हुने र छिटो आत्मनिर्भर बन्ने मार्ग तय गर्नु उपयुक्त हुने छ । यसका लागि बलियो आधार नै प्राविधिक तथा व्यावसायिक शिक्षा हो । आजको समय काम गर्न सक्ने क्षमता र सिप प्राप्त गर्नु नै सही पुँजी निर्माण गर्नु हो । प्राविधिक शिक्षा रोज्नु केवल एक विषय मात्र रोज्नु होइन, आफ्नो जीवनलाई आत्मनिर्भर र सम्भावनाले भरिएको बाटोतर्फ मोड्ने निर्णय हो ।