प्रतीक इच्छुक शर्मा
सल्यान, चैत ९ गते । कपुरकोट गाउँपालिका–३ का वडा अध्यक्ष प्रदीप खड्काले मिटर बक्स नपाएको भन्दै धर्ना बसेपछि राति करिब साढे १० बजे मात्र मिटर बक्स उपलब्ध भएको छ। वडा कार्यालयले तीन वटा फाइल प्रक्रिया पूरा गरेर निवेदन पेश गरेको थियो।
आइतबार दिउँसो आवश्यक प्रक्रिया पूरा गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यान पुगेका खड्काले सोही दिन मिटर बक्स उपलब्ध गराउन माग गर्दै कार्यालय परिसरमा धर्ना बस्नुभएको थियो।
धर्नापछि मात्र मिटर बक्स प्राप्त भएको भन्दै खड्काले सेवा प्रवाहमा ढिलाइ भएको गुनासो गर्नुभयो।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानले भने सोही दिन मिटर उपलब्ध गराउन सम्भव नहुने बताएको छ। केन्द्रले प्रक्रिया पूरा गर्न समय दिनु दुवै पक्षका लागि उपयुक्त हुने उल्लेख गर्दै सेवा प्रवाहलाई सहज बनाउन विभिन्न स्थानीय तहमा सेवा कार्यालय स्थापना गरिएको जनाएको छ।
वितरण केन्द्र सल्यानका प्रमुख नरेशदत्त रावतले अनावश्यक ढिलाइ वा अनियमितता भएको शंका भए जानकारी गराउन आग्रह गर्नुभएको छ र अनावश्यक दबाब सिर्जना नगर्न चेतावनी दिनुभयो। साथै, राति साढे १० बजेपछि धर्ना कार्यक्रम स्थगित गरिएको पनि प्राधिकरणले जानकारी गराएको छ।