अमरराज नहर्की
तनहुँ, चैत ९ गते । तनहुँका स्थानीय उद्यमीलाई व्यावसायिकतातर्फ प्रोत्साहन गर्न एकीकृत सेवा कार्यालयले अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । उद्योग प्रवर्धनका लागि साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न पालिकाका १२ जना उद्यमीलाई ५० प्रतिशत अनुदानमा सिलाई मेसिन वितरण गरिएको हो ।
कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीका अनुसार ३९ हजार रुपियाँ मूल्य पर्ने सिलाई मेसिन उद्यमीलाई उपलब्ध गराइएको हो । मेसिन प्राप्त गर्नेमा अधिकांश महिला उद्यमी रहेका छन्। सोही कार्यक्रमअन्तर्गत दुई जना किसानलाई हाते ट्याक्टर र एक जनालाई कुटानी पिसानी मेसिनसमेत छिट्टै हस्तान्तरण गरिने कार्यालयले जनाएको छ । अनुदान वितरणमा पारदर्शिता अपनाउन अघिल्लो पाँच वर्षसम्म कुनै पनि निकायबाट अनुदान नपाएका उद्यमीलाई मात्र छनोट गरिएको छ । मेसिन प्राप्त गर्नेहरुमा व्यास नगरपालिका, शुक्लागण्डकी, ऋषिङ र भीमादका सिलाई व्यवसायी छन् ।
कार्यालय प्रमुख रेग्मीले प्राप्त प्रविधिको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “उद्यमीले प्राप्त गरेको प्रविधि बेच्न वा अरूलाई हस्तान्तरण गर्न पाउने छैनन् । दुरुपयोग गरेको पाइएमा लागत असुल गरी कानुनी कारबाही गरिनेछ ।’’ स्थानीय स्तरमा साना उद्योगको विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्यले गरिएको कार्यालयले जनाएको छ ।