रजनी योगी
सुर्खेत, चैत ९ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका खड्का २६ हजार ८९७ मतका साथ विजयी हुनुभएको हो । पहिलो पटक संसदीय यात्रा तय गर्नुभएका खड्का जिल्लामा व्यवसायी एवं सामाजिक व्यक्तित्वका रूपमा चिनिँदै आउनुभएको छ । २०४२ सालमा आफ्नी आमाको नामबाट सुर्खेतको वीरेन्द्रनगरमा माया मेडिकल हल खोली व्यवसाय सुरु गर्नुभएका विष्णुबहादुर अहिले माया अस्पतालको सञ्चालक हुनुहुन्छ । २०५० सालमा उहाँले सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी सङ्घ स्थापना गरेर संस्थापकसमेत हुनुभयो । हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्ष रहनुभएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केन्द्रीय उपाध्यक्ष भई सक्नुभएका विष्णुले यातायात, अस्पताल, पेट्रोल पम्प, औषधी डिलरलगायतका क्षेत्रमा व्यवसाय गर्दै आउनुभएको छ ।
आफू प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित भएपछि आफ्नो क्षेत्रमा देखिने र महसुस हुने गरी विकासको लहर ल्याउने गरी ठोस योजना बनाएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “जनताको आवश्यकता बुझेर सडक निर्माणको योजना अगाडि बढाउने छु । गँगटे–आरनटुँडा–ढाँडखेत–मटेला–थलजाजरकोट सडक कालोपत्रे प्रक्रियाको काम थालनी गरिने छ । उहाँले अवलचिङ–भर्जेनी–पाम्का–मेहेली–टिमुरकोट–भुतचोक–झुप्रा सडक स्तरोन्नति गर्ने योजना बनाएको पनि बताउनुभयो ।” उहाँ भन्नुहुन्छ, “मदन भण्डारी राजमार्ग वरपरका सहायक सडकलाई क्रमशः कालोपत्रे गर्ने, निर्माणाधीन दशरथपुर–डाँडागाउँ–जितेजुवा–ढाँडखेत तथा जहरे–शिवनगर–गुमी–पातीहाल्ना–चोल्पा–राकम सडक कालोपत्रेसहित सम्पन्न गर्ने योजना छ ।”
प्रारम्भिक बालविकास एवं विद्यालय शिक्षामा विपन्न, दलित, निम्न क्षमता भएका र सीमान्तकृत समुदायका बालबालिकाको पहुँचलाई सहज र सुनिश्चित गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।
उहाँले विद्यालयमा प्राविधिक एवं सिपयुक्त विषयको विस्तार गर्ने, विद्यालयलाई जनशक्ति व्यवस्थापन, शिक्षण सामग्रीको उपलब्धता, शिक्षण विधिमा नवप्रवर्तन, शिक्षण सिकाइ क्रियाकलापको प्रभावकारितालगयातका दृष्टिले समृद्ध पार्ने गरी योजना कार्यान्वयन गर्ने पनि बताउनुभयो । उहाँले आफ्नो क्षेत्रमा कृषि तथा पशुपालनको विकास तथा विस्तारको योजना तयार पारेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटन व्यवसायको विकास र प्रवर्धन, उद्योग व्यवसायको स्थापना, उद्यमशीलताको विकास, वाणिज्य तथा बैङ्किङ क्षेत्रको विकास, सहकारीको विकास, ऊर्जा क्षेत्रको विकास तथा विस्तारका माध्यमबाट आर्थिक समृद्धिको योजना बनाएको छु ।” यस्तै सार्वजनिक सेवा सुधार र सुशासनका लागि शून्य सहनशीलताको नीति लिएको भन्दै उहाँले संविधानमा उल्लेख भएको मौलिक हक कार्यान्वयन गर्नमा ध्यानकेन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा ठोस योजना निर्माण गरेर काम गर्ने उहाँको भनाइ छ । उहाँ उद्यमशीलताको विकास गरेर स्थानीयस्तरमै रोजगारीको सुनिश्चितता दिने गरी योजना कार्यान्वयनको प्रयास गर्ने पनि बताउनुहुन्छ । नेपाली कांग्रेस सुर्खेतको जिल्ला उपसभापतिसमेत हुनुभएका खड्काले पार्टीले अगाडि सारेको घोषणापत्र अनुसार आफूले सुर्खेत क्षेत्र नं. १ को विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।