धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ९ गते । सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दामा सजाय पाएका फरार अभियुक्तसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवक् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले राजविराज नगरपालिका ५ निवासी युगेश्वर यादवलाई भ्रष्टाचार तथा घुस रिसवत मुद्दामा पक्राउ गरिएको बताउनुभयो । यादवलाई पाँच महिना १५ दिन कैद सजाय तोकिएपछि फरार रहेको उहाँले बताउनुभयो ।
यसैगरी, चोरी मुद्दामा फरार रहेका जिल्लाकै शम्भुनाथ नगरपालिका–४ निवासी निरजकुमार ठाकुरलाई समेत प्रहरीले पक्राउ गरेको छ । उहाँलाई एक महिना कैद र ७५ हजार रुपियाँ जरिवाना तोकिएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जना अभियुक्तलाई कारबाहीका लागि आइतबार सप्तरी जिल्ला अदालतमा पेश गरिएको प्रनाउ पुरीले जानकारी दिनुभयो ।