• ९ चैत २०८२, सोमबार

बिस प्रतिशतभन्दा बढी किशोरी उन्नाइस वर्ष नपुग्दै सुत्केरी

blog

किशोरी अवस्थामै चार सन्तानकी आमा ।

हुम्ला समाचारदाता

हुम्ला, चैत ९ गते । हुम्लामा २० प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यासमेत बढ्दै गएको छ । 

जिल्लाभर चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयका तथ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५५६ जना सुत्केरी भएकामध्ये ११२ जना किशोरी १९ वर्षमुनिका रहेका छन् । चालु आवको पाँच महिना अझै बाँकी नै भएका कारण उक्त उमेर समूहमा सुत्केरी हुने किशोरीको सङ्ख्या अझै वृद्धि हुने जानकारी उहाँले दिनुभयो जबकि अघिल्लो आव २०८१/८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको सङ्ख्या १३७ जना थियो भने त्योभन्दा अघिल्लो आवमा १०७ जना थिए । २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ३७ जना रहेका छन् ।