बुटवल समाचारदाता
बुटवल, चैत ९ गते । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १३ सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १३ सांसदको प्रतिनिधित्व भएको हो ।
१३ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै रुपन्देहीमा ११ सांसद भएका छन् । रास्वपाले रुपन्देहीबाट छ जना महिलालाई समानुपातिकबाट सांसद बनाएको छ । त्यसै गरी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक जनालाई समानुपातिकबाट सांसद बनाएका छन् ।
प्रत्यक्ष र समानुपातिक गरी १३ सांसदमध्ये महिला र पुरुष सांसदको सङ्ख्या पनि करिब बराबर भएको छ । रास्वपाले समानुपातिकमा छ जना सिफारिस गरेकोमा पाँच जना महिला छन् । नेपाली कांग्रेसबाट एक जना महिला सांसद बन्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक जना पुरुषलाई समानुपातिक सांसद बनाएको छ ।
निर्वाचन आयोगले दलले सिफारिस गरी पठाएका नाममा निर्णय गरी प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ । रास्वपा र कांग्रेसबाट सिफारिस गरिएका सांसद सबै महिला छन् भने राप्रपाबाट पुरुष छन् ।
रास्वपाले श्रद्धा कुँवर, मञ्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक, पुनमकुमारी अग्रवाल र सुदीप ढकाललाई समानुपातिकबाट सांसद बनाएको छ । कांग्रेसले गङ्गा शाहीलाई समानुपातिकबाट सांसद बनाएको छ भने राप्रपाले ताहिर अलीलाई समानुपातिकबाट सांसद बनाएको छ ।