अनिल पराजुली
हेटौँडा, चैत १० गते । बागमती प्रदेशको किसान तथा कृषि उद्यमीको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदेशस्तरीय कृषि प्रदर्शनीको तयारी पूरा भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्र्धन समितिको संयोजनमा चैत १३ गतेदेखि १६ गतेसम्म हेटौँडास्थित पल्पसा सदनमा आयोजना हुने “बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी २०८२” को तयारी पूरा भएको आयोजकले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रदर्शनीको उदघाटन बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुधन पौडेलले गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीलाई थप आकर्षक बनाउन विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा स्टल शुल्क तथा प्रवेश निःशुल्क गरिएको छ ।
सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवन र मकवानपुर जिल्लाका कृषक तथा कृषि उद्यमीहरूले आफ्नो उत्पादनहरूको प्रदर्शन तथा बिक्री–वितरण गर्नेछन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटका अनुसार प्रदर्शनीमा करिब ४० वटा स्टल रहने छन् ।
स्टलहरूमा कोदो, जुनेलो, फापरको पिठो, गेडागुडी, मह, मसला, बाँसका सामग्री, केराका परिकार, अचार, धुप, मस्यौरा, डेरी उत्पादन, च्याउ, माछा, कृषि उपकरण लगायतका विभिन्न स्थानीय उत्पादनहरू मउवासंघ कृषि संयोजक निलम पाण्डेले जानकारी दिनुभयो ।
प्रदर्शनीले कृषिउपजको उत्पादन, विविधीकरण तथा बजारीकरणमा टेवा पुग्ने, कृषि फर्म दर्तालाई प्रोत्साहन गर्ने र किसानलाई आधुनिक कृषि प्रविधि तथा व्यावसायिक ज्ञानमा पहुँच बढाउने विश्वास आयोजकले लिएको छ । कृषि प्रदर्शनीका लागि बागमती प्रदेशको कृषि मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र मउवासंघको आन्तरिक स्रोतबाट बजेट ब्यवस्था गरिएको छ ।