• १० चैत २०८२, मङ्गलबार

चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, चैत १० गते । चार दिवसीय चैती छठ पर्वको तेस्रो दिन मङ्गलवार साँझ अस्ताउँदो सूर्यलाई पूजापाठसहित 'सँझिया अर्घ्य' दिइएको छ । कात्तिकमा मनाइने मुख्य छठझैँ विधि विधान रहेको यस पर्वमा व्रतालुले जलाशयमा सजिएका पूजा सामग्रीसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

तराई क्षेत्रमा मनाइने चैती छठ आइतबार 'नहाय–खाय' बाट विधिवत् रूपमा सुरु भएको हो । सोमबार 'खरना' पूजा गरी तेस्रो दिन मङ्गलवार मुख्य पूजाका रूपमा रहेको सँझिया अर्घ्य दिइएको छ । ठेकुवा, भुसवा लगायतका विभिन्न परिकार एवं फलफूलसहित पवित्र जलाशय, पोखरी, नदी र तलाउमा पुगेर व्रतालुहरूले अस्ताउँदो सूर्यको आराधना गरेका छन् ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित वरुणसर, अस्पताल पोखरीसहित जिल्लाका विभिन्न स्थानमा चैती छठ मनाइएको छ । विशेष गरी मनोकामना पूर्ण भएकाहरूले यो पर्व मनाउने गर्दछन् । मङ्गलवार रातभरि घाटमै जाग्राम बसी बुधबार सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । अस्ताउँदो सूर्यलाई 'छठी माइ' र उदाउँदो सूर्यलाई 'दिनकर' का रूपमा पूजा गर्ने परम्परा छ ।

जलेश्वरका स्थानीय युवा रमन चौधरीका अनुसार कात्तिकको छठ जस्तो व्यापक नभए पनि चैती छठको छुट्टै धार्मिक महत्त्व छ । जिल्लाका प्रमुख बजारहरू जलेश्वर, मटिहानी, गौशाला, सम्सी र रामगोपालपुर लगायतका ठाउँमा अर्घ्य दिनेहरूको ठुलो सहभागिता थियो ।

अहिंसा, सद्भाव र भ्रातृत्वको सन्देश दिने यो पर्व जातजाति र छुवाछुतको भेदभावभन्दा निकै माथि रहेको पाइन्छ । यस पर्वमा प्रयोग हुने ढकिया, चङ्गेरा, कुरबार, हात्ती, घोडा र माला लगायतका सामग्रीहरू कुम्हार, डोम र माली समुदायबाट लिइने हुनाले यसले सामाजिक एकताको भाव दर्शाउँछ ।