• ११ चैत २०८२, बुधबार

वर्षा अगावै मेची राजमार्गको विकल्प दिन आग्रह

blog

जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वपक्षीय भेला । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत ११ गते । मेची पहाड जोड्ने मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामवासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् । 

वर्षौंदेखि जमिन भासिने र बग्ने समस्या हुँदैआएको यो खण्डमा गएको असोज १८ को वर्षा र बाढी पहिरोसँगै पुनः अवरुद्ध भएपछि अबको वर्षाको समयमा पनि यहाँबाट यातायात सञ्चालन नहुने अवस्था रहेको भन्दै जिल्लावासीले सरकार र जिल्लास्थित सरोकारवाला निकायलाई तत्काल यसको विकल्पमा काम गर्न आग्रह गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय इलाममा भएको सर्वपक्षीय भेलामा सहभागीले असोज १८ को विपद्पछि उक्त स्थानमा विभिन्न प्रविधि अपनाएर मर्मत गरिए पनि त्यो दीर्घकालीन नहुने बताएका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको भेलामा अधिकांश सहभागीले यो सडक खण्डको विकल्पमा रहेको तिल्केनी–सिमल गोलाई सडक, केचना कञ्चनजङ्घा सडकलाई तत्काल मर्मत र सम्पन्न गराउन आग्रह गरेका थिए । 

कार्यक्रममा सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले राजदुवाली सडक खण्डमा ‘ड्रिलिङ’ गरेर मर्मतको काम भइरहे पनि यसै भन्न नसकिने अवस्था रहेको बताउनुुभयो । भट्टराईले मेची पहाडका लागि अबको भरपर्दो विकल्प केचना कञ्चनजङ्घा सडक नै रहेको र यो सडकमा ठेक्केदारलाई चाँडो काम गर्न ताकेता गरिहेको बताउनुुभयो । 

भट्टराईले गएको असोज १८ को बाढी भासिएको माई खोलास्थित बेलासे पुलमा बेलीबृज राख्न, सोही सडकबिचको पुवा खोलामा पुनः बेलीबृज राख्न र तिल्केनी–सिमलगोलाई सडकबिच पर्ने जोगमाई खोलामा बेलीबृज राख्न काम अघि बढिसकेको छ । आगामी जेठ महिनाभित्र काम सकिने उहाँले जानकारी दिनुुभयो ।

असोज १८ को बाढीले माई खोलाको बेलासेस्थित पक्की पुलको आधा भाग भास्सिएको, पुवा खोला र जोगमाई खोलाको बेलीबृज बाढीले बगाएको थियो । मेची राजमार्गको राजदुवालीमाथिको सडकमा भने पहिरो गएर १२ दिनसम्म यातायात अवरुद्ध भएको थियो । 

यो खण्डमा अहिले पनि पहिरोमाथि नै यातायात सञ्चालन भइरहेको डिभिनज प्रमुख भट्टराईले बताउनुभयो । यो राजमार्ग इलामसहित पाँचथर, ताप्लेजुुङ र तेह्थुमको केही भागका लागि ‘लाइफ लाइन’ को रूपमा रहेको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले राजमार्गको अवस्था हेर्दा र वैकल्पिक सडकहरू तयार नभइरहेको अवस्थामा आउँदो वर्षा सिजनका लागि आवश्यक दैनिक उपभोग्य सामग्रीप्रति पनि सचेत रहनुु पर्ने अवस्था नआउला भन्न नसकिने बताउनुुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायी, निर्माण व्यवसायी, राजनीतिक दल, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।