प्रदिप पन्त
बागलुङ, चैत ११ गते ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन ।
बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले जानकारी दिनुभयो ।
बागलुङमा रहेका तीन वटा बैङ्कमा मङ्गलबार दिउँसो रकम जम्मा गर्न आउनेबाट एउटै नम्बरका तीन वटा नक्कली नोट जफत गरिएको कुवँरले बताउनुभयो ।
नेपाल बैङ्क लिमिटेड, प्रभु बैक र सिद्धार्थ बैक लिमिटेडमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको उहाँले बताउनुभयो ।
नक्कली नोट फेला परेको विषयमा नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराएको उहाँको भनाइ छ । “नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह छैन,”कुवँरले भन्नुभयो, “फेला परेका नोटका नम्बर समेत एउटै छन ।”
बजारमा नक्कली नोट फेला परेकोले सबै सतर्क रहन कुवँरको सुझाव छ ।बजारमा नक्कली नोट फेला परेको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले बताउनुभयो ।