रामकृष्ण बोहरा
बागलुङ, चैत ११ गते । ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ ।
राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाएको हो । ट्राफिकले मध्यपहाडी लोकमार्गसँग जोडिएका, कालीगण्डकी काेरिडोर आसपास र अन्य ग्रामीण भेगमा चल्ने सवारी साधन लक्षित सचेतना अभियान चलाएको हो ।
सवारी दुर्घटना न्युनीकरण गरिने, चालक तथा यात्रुमा सचेतना अभिवृद्धि गरिने, सुरक्षित यात्राको सुनिश्चित्ता गर्ने र सुरक्षित यात्राबारे सबैको जिम्मेवारी हो भन्ने बोध गराउने उद्देश्यले अभियान चलाइएको ट्राफिक प्रहरी प्रमुख मीनबहादुर कुँवरले बताउनुभयो ।
पछिल्लो समय राजमार्गमा सवारी दुर्घटना बढीरहेका छन् । ती दुर्घटना प्रायः लापरबाही पूर्णरूपमा सवारी चलाएको, ट्राफिक नियम उल्लङ्घन गरेको, क्षमताभन्दा बढी यात्री राख्ने गरेको पाइएको छ । यात्रीले पनि क्षमता बढी भएको स्थानमा जान नहुने, चालकलाई अनावश्यक दबाब र तनाव नदिने गर्नुपर्ने सचेतना अभियानको क्रममा जानकारी गराइएको छ ।