कविराज घिमिरे
हिले, चैत ११ गते । धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् ।
हिले भलिबल क्लबको आयोजना मङ्गलबार सुरु भएको प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले धनकुटाको महालक्ष्मी नगरपालिकालाई २५–१५, २५–१७ र २५–२३ को सोझो सेटले हराएको हो ।
त्यस्तै दोस्रो खेलमा धनकुटाको पाख्रिवास नगरपालिकाले भोजपुरको अरुण गाउँपालिकालाई २५–१८, २५–१९ र २५–१३ को सोझो सेटले हराउन सफल भयो । त्यस्तै, तेस्रो खेलमा झापाको कन्काइ नगरपालिकाले भोजपुरको आमचोक गाउँपालिकालाई २१–२५, २५–२१ र २५–२० र २६–२४ को सेटले पराजित गरेको क्लबका अध्यक्ष सञ्जिव तामाङले जानकारी दिनुभयो ।
प्रगियोगिता अन्तर्गत बिहीबार सेमिफाइनल चरणका खेलहरू र शुक्रबार फाइनल खेल हुने छ । प्रतियोगितामा विजेता टोलीले नगद २ लाख २ हजार २२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
उपविजेताले नगद १ लाख १ हजार १११ रुपियाँसहित ट्रफी, मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा कोशी प्रदेशका ९ विभिन्न पालिकाको सहभागिता रहेको छ । हिलेमा रामनवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुँदैआएको छ ।