• ११ चैत २०८२, बुधबार

बाँकेमा घटे एसइई दिने विद्यार्थी : ४१ जना कैदीबन्दी र बालबिज्याइँकर्ताले एसइई दिँदै

blog

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेको कार्यालय । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत ११ गते । बाँकेमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी घटेका छन् ।यस वर्ष बाँकेबाट नौ हजार ६१५ जना विद्यार्थीले एसइई दिन लागेका हुन् ।

गत वर्ष बाँकेबाट १० हजार ४१६ जना विद्यार्थीले एसइई दिएका थिए । यस वर्ष गत वर्षभन्दा ८०१ जना कम विद्यार्थीले एसइई दिँदैछन् ।आगामी चैत १९ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाका विभिन्न आठ वटा पालिकाका २७ सामुदायिक र नौ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट सात हजार ९१३ नियमित र एक हजार ७०२ ग्रेड वृद्धि गरी जम्मा नौ हजार ६१५ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो ।

एकाइ प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०५ सामुदायिक विद्यालय र १०६ संस्थागत गरी २११ विद्यालयका चार हजार ६७५ छात्रा र चार हजार ९४० छात्रले एसइई दिने भएका हुन् ।

 उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका २७० नियमित र ५४ ग्रेड वृद्धि गरी ३२४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन् ।जसमध्ये सामुदायिक १०५ विद्यालयका तीन हजार ३०२ छात्रा र तीन हजार ८३ छात्र गरी छ हजार ३८५ विद्यार्थी र संस्थागत १०६ विद्यालयका एक हजार ३७३ छात्रा र एक हजार ८५७ छात्र गरी तीन हजार २३० विद्यार्थी रहेका छन् ।यस वर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एकएक गरी ३६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका शाखा अधिकृत घनश्यामबहादुर मुरावले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा पाँच सामुदायिक र पाँच संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

शाखा अधिकृत मुरावका अनुसार कुल ३६ परीक्षा केन्द्रमध्ये नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्जस्थित महेन्द्र मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ३७५ जना विद्यार्थी र राप्तीसोनारी गाउँपालिका शमसेरगन्जस्थित शिवशक्ति मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १६२ जना विद्यार्थीले यस वर्षको एसइई दिन लागेका छन् ।

४१ जना कैदीबन्दी र बालबिज्याइँकर्ताले एसइई दिँदै

बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४१ जना विद्यार्थीले एसइई दिन लागेका छन् ।

जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ३३ जना बालबिज्याइँकर्ता र दुई वटा कारागारमा रहेका आठ जना कैदीबन्दीले पनि यस वर्ष एसइई दिन लागेका हुन् ।डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३० जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख ईश्वर शर्माले जानकारी दिनुभयो । 

त्यसैगरी, बैजनाथ गाउँपालिका-३, नौ बस्तास्थित नौ बस्ता बालसुधार गृहका ३ जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिनुभयो ।

त्यसैगरी नेपालगन्जस्थित नेपालगन्ज कारागारमा रहेका चार जना कैदीबन्दीले एसइई दिन लागेका कारागार प्रमुख प्रकाश ढुङ्गनाले जानकारी दिनुभयो । त्यसैगरी बैजनाथस्थित नौ बस्ता कारागारमा रहेका चार जना कैदीबन्दीले पनि एसइई दिन लागेका निमित्त कारागार प्रशासक ज्ञानबहादुर वलीले जानकारी दिनुभयो ।

कारागारमा रहेका कैदीबन्दी र बालसुधार गृहमा रहेका बालबिज्याइँकर्ताहरूलाई त्यहाँबाट नजिकको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गरिएको समन्वय एकाइ प्रमुख चौलागाईँले जानकारी दिनुभयो ।

बाँकेमा पछिल्ला तीन वर्षमा लगातर वृद्धि हुँदै गएको एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या यस वर्ष घटेको हो । यसअघि २०७९ सालमा आठ हजार ८८६ जना, २०८० सालमा नौ हजार २९३ जना र २०८१ सालमा १० हजार ४१६ जना विद्यार्थीले जिल्लाबाट एसइई दिएका थिए ।