नवीनराज कुइँकेल
लमजुङ, चैत ११ गते । जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँग सम्बन्धित गुनासाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मराज भुसालले जानकारी दिनुभयो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेल्लो सरकार विभागका अनुसार जिल्लाबाट दर्ता भएका गुनासामध्ये सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयको रहेको छ। जिल्ला प्रशासन कार्यालयमा मात्रै ३३ वटा गुनासा दर्ता भएका छन्। बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकामा ११÷११ वटा, सुन्दरबजार नगरपालिकामा ७ वटा गुनासा दर्ता भएका छन्।
त्यसैगरी, दोर्दी गाउँपालिकामा ५, राइनास नगरपालिकामा ४, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, विद्युत् वितरण केन्द्र र मर्स्याङ्दी गाउँपालिकामा १/१ वटा गुनासा दर्ता भएको छ।
दर्ता भएका गुनासामध्ये २१ वटा मात्रै समाधान भएको छ। ११ वटा गुनासाको समस्या समाधान प्रक्रियामा रहेको र बाँकी ११ वटा गुनासा हेर्दै नहेरिएको सहसचिव भुसालले बताउनुभयो।
‘हेल्लो सरकार’ सरकारी निकायहरूको कामकाज र सेवाप्रवाह सम्बन्धी गुनासा तथा उजुरीको आधिकारिक माध्यम हो। नागरिकको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत हेल्लो सरकार सञ्चालनमा ल्याइएको हो।
हेलो सरकारले नागरिकबाट प्राप्त गुनासालाई टिपेर सुधार तथा सम्बोधनका लागि सम्बन्धित निकायमा निर्देशन दिने गर्छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा सेवा सुरु गर्नुभएको थियो।
हेलो सरकारमा फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट गुनासा लिन सकिन्छ। प्राप्त गुनासाहरू सम्बन्धित निकायलाई पठाई तत्काल सम्बोधन गरिने व्यवस्था भए पनि केही गुनासाहरू प्रभावकारी रूपमा समाधान हुन नसकेको सरोकारवालाहरू बताउँछन्।
गुनासाको प्रकृति हेरी सम्बन्धित निकायमा पठाएर समस्या समाधानमा सहजीकरण गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासाहरू सिधै सम्बोधन गर्ने व्यवस्था पनि गरिएको सहसचिव भुसालले जानकारी दिनुभयो।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लमजुङ सदरमुकाम बेसीशहरमा संघीयता सबलीकरण, विभिन्न तहका सरकारको भूमिका, कार्य र वित्तीय सम्बन्धमा देखिएका समस्या तथा हेलो सरकारमा आएका गुनासासम्बन्धी अन्तरक्रिया गरेको थियो।