बेनी, चैत ११ गते । जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत नाँगी गाउँमा जन्मिनुभएका महावीर पुन लामो समय विज्ञान, प्रविधिको क्षेत्रमा काम गर्नुभएको छ । राजनीतिमा खासै रुचि नराख्ने स्वभावका महावीरले सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिई गत फागुनमा भएको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार भएर लड्नु भएको थियो ।
सो निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा २२ हजार ८५० मत प्राप्त गरी विजयी हुनुभयो । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । आफूले शिक्षासम्बन्धी केही नीतिगत सुधार गर्न खोजेको तर कर्मचारीतन्त्र र राजनीतिक संयन्त्रभित्र आफ्ना योजना अनुमोदन गराउन नसकेर चुनावमा होमिएको उहाँले त्यतिबेला बताउनुभएको थियो ।
करिब २६ वर्षअघि दुर्गम गाउँलाई इन्टरनेटसँग जोड्ने सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन यो निर्वाचनबाट जनप्रतिनिधि बन्नुभएको छ । सरल र सादगी जीवनशैली अपनाउने पुनको आगमनले म्याग्दीको निर्वाचनमा नयाँ सन्देश प्रवाह गरेको छ । पैसा हुनेले मात्र चुनाव जित्छन् भन्ने भाष्यलाई उहाँले यसपालि तोड्नुभयो ।
चुनावी अभियानका क्रममा गाउँ पुग्दा स्थानीयले महावीरलाई चुनाव खर्च दिएर पठाएका थिए । तत्कालीन समयमा नाँगी गाउँमा शिक्षा, स्वास्थ्य र सञ्चार सुविधाको अभाव थियो । पुनको सहयोगले दुर्गम सो गाउँ इन्टरनेटमार्फत विश्वसामु जोडियो ।
सदरमुकाम बेनीमा इन्टरनेटको सहज पहुँच नभएको समयमा दुर्गम नाँगी गाउँका बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारणले सूचना प्रविधिमा अभ्यस्त थिए । दुर्गम गाउँमा ताररहित इन्टरनेट विस्तारमा योगदान पु¥याएको भन्दै रमन म्यागेसेसे पुरस्कारबाट महावीर २०६४ मा सम्मानित हुनुभएको थियो । सन् १९८९ मा महावीर उच्च शिक्षाका लागि उहाँ अमेरिका पुग्नुभयो । उहाँले अमेरिकाको नेब्रस्का युनिभर्सिटिमा स्कलरसिपसहित विज्ञान शिक्षा विषयमा स्नातक गर्नुभयो ।
अमेरिकामा अध्ययनकै बसाइमा महावीरले सन् २००१ मा शैक्षिक प्रशासनमा मास्टर डिग्रीसमेत प्राप्त गर्नुभयो । विदेशमा उच्च शिक्षा हासिल गरेपछि उहाँ नेपाल फर्किएर विकट गाउँमा सूचना प्रविधिको माध्यमबाट परिवर्तन ल्याउने अभियानमा सक्रिय हुनुभयो ।
संसद्मा पुगेपछि युवा सांसदसँग मिलेर शिक्षा क्षेत्रमा देखिएका समस्याको समाधान, बेथिति र विकृतिलाई अन्त्य गर्नेका लागि प्रयास गर्ने उहाँले बताउनुभयो । उहाँले विकास योजना सांसदले केन्द्रबाट छनोट गर्ने होइन, स्थानीय सरकारले आवश्यकता महसुस गरेका योजना नै सांसदका योजना बन्नु पर्छ भन्ने मत राख्नुहुन्छ ।
उहाँले निर्वाचित भएपछि जिल्लाका छ वटै स्थानीय तहमा पुगेर जनप्रतिनिधि र कर्मचारीसँग स्थानीय तहका विकास योजनाका बारेमा छलफलसमेत गर्नुभएको छ । छलफलका क्रममा उहाँले भन्नुभयो, “म बजेट बाँड्नेभन्दा पनि स्थानीय सरकारका योजनालाई केन्द्रसम्म पु¥याउने र बजेट व्यवस्थापनमा सहजीकरण गर्छु । सबै दल र स्थानीय सरकारसँगै मिलेर काम गर्छु ।”
देशको अर्थतन्त्र सुधारका लागि विज्ञान प्रविधि, नवप्रवर्तन, अनुसन्धान, आविष्कारलाई उच्च प्राथमिकता दिने र नेपालको प्रशासनिक क्षेत्रमा सुशासन ल्याएर जनतालाई सेवा दिने आफ्नो योजना रहेको पुन बताउनुहुन्छ ।