विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत ११ गते । उहाँलाई राजनीतिमा प्रवेश गर्न ठुलो दुःख गर्नु परेन । राजनीतिक पृष्ठभूमि बोक्नुभएका उहाँले बुवा चन्द्रकान्त चौधरीको राजनीतिक विरासतलाई यतिबेला अगाडि बढाउनुभएको छ, प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी बनेर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जस्तो हस्तीलाई भारी मतान्तरले पराजित गर्दै संसदीय यात्रामा उहाँले सुखद सुरुवात गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं. ३ मा उहाँले ३२ हजार ८७५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी अध्यक्ष यादव १५ हजार २३९ मतमा रोकिनुभयो । यति मात्र होइन उहाँले यही निर्वाचनमा आफ्ना काका ताराकान्त चौधरीलाई समेत पछि पार्नुभयो । नेपाली कांग्रेसको राजनीति गर्दै पछि राष्ट्रिय जनता पार्टीमा सव्रिmय रहनुभएका उहाँ बुवा मन्त्रीसमेत हुनुभएको थियो । २०७० सालको संविधान सभा निर्वाचनमा काका पनि सोही क्षेत्रमा नेकपा (एमाले) बाट विजयी बन्नुभएको थियो ।
राजनीतिक पृष्ठभूमि भए पनि उहाँको रुचि भने शिक्षा र स्वास्थ्य क्षेत्रमा बढी थियो । चीनबाट चिकित्सा शास्त्रमा स्नातक (एमबिबिएस) उत्तीर्ण गरेसँगै विभिन्न गैरसरकारी संस्थामार्फत स्वास्थ्य क्षेत्रमा सव्रिmय रहनुभएका ४३ वर्षीय चौधरी बुवाकै राजनीतिक विरासतलाई अगाडि बढाउँदै जनताको सेवा गर्ने मनसायले राजनीतिमा आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चुनावका बेला क्षेत्रका जनतासँग गरेको करारमा ‘समृद्ध सप्तरी–३, सशक्त मधेश हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी’ लाई पूरा गर्ने छु ।’ उहाँले किसानको उल्लेख्य बसोबास भएको यस क्षेत्रमा बिउबिजन, मलखाद र सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पार्नुभयो ।
प्रत्येक सरकारी विद्यालयको अनुगमन गरी विद्यालयको शिक्षामा सुधार ल्याउने, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने, निर्माणाधीन कठौना–पातो सडकको निर्माण काम पूरा गराउने उहाँको योजना छ । उहाँले भ्रष्टाचारमुक्त अभियानलाई अगाडि बढाउँदै सुशासन कायम गर्दै सरकारी निकायमा जनतालाई छिटो छरितो सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने, महिला उद्यमशीलता घरबाटै सुरु गर्ने, किसानलाई बलियो बनाएर अर्थतन्त्र दरिलो बनाउनेलगायतको विषय प्राथमिकताका साथ संसद्मा आवाज उठाउने छु,” उहाँले भन्नुभयो ।