• १९ वैशाख २०८३, शनिबार

आँधीखोलाको तरबुजामा उपभोक्ता र प्रदेश सरकारको चासो

blog

आँधीखोलाको बगर क्षेत्रमा फलेको तरबुजाप्रति चासो व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख १९ गते ।
स्याङ्जाको भीरकोट नगरपालिकास्थित आँधीखोला किनार क्षेत्रमा उत्पादन भएको तरबुजाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले चासो व्यक्त गर्नुभएको छ । बगर क्षेत्रमा परीक्षणका रूपमा कृषकले लगाएको तरबुजाले राम्रो उत्पादन दिएको जानकारी पाएपछि मुख्यमन्त्री पाण्डेले यसप्रति रुचि देखाउनुभएको हो ।

भीरकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि स्याङ्जा पुग्नुभएका मुख्यमन्त्री पाण्डेले परीक्षणका रूपमा लगाइएको तरबुजालाई विस्तार गर्न सकिने बताउनुभयो । उहाँसँगको भेटमा कृषकहरूले पहिलो पटक लगाइएको तरबुजाप्रति आफूहरू उत्साहित भएको बताएका थिए । भवन उद्घाटन कार्यक्रम नजिकै रहेको बगर क्षेत्रमा फलेको तरबुजाको स्टलमा समेत मुख्यमन्त्री पाण्डे पुग्नुभएको थियो ।

कार्यक्रममा सहभागी भीरकोटका नागरिकलाई आफ्नै क्षेत्रमा पहिलो पटक फलेको तरबुजाले आकर्षित गरेको थियो । आँधीखोला क्षेत्रमा तरबुजा राम्रो फल्ने देखिएको भन्दै स्थानीयले स्वादसमेत लिएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिनुभयो ।

कृषकले उत्पादन गरेको तरबुजाको बजारीकरणको जिम्मा नगरपालिकाले लिने नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।

उहाँका अनुसार परीक्षणका लागि बगर तथा खोलाको किनार क्षेत्रमा तरबुजा खेती सुरु गरिएको हो । आगामी वर्षदेखि यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना नगरपालिकाले बनाएको छ । परीक्षण सफल भएको पालिकाको बुझाइ छ ।

भीरकोट नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा आँधीखोला किनार अर्थात् बगर क्षेत्रमा परीक्षणका रूपमा तरबुजा खेती सुरु गरेको हो । भीरकोट नगरपालिकाका १८ जना कृषकले २० रोपनी क्षेत्रफलमा पहिलो पटक तरबुजा खेती गरेका छन् ।