• ११ चैत २०८२, बुधबार

उदाउँदो सूर्यलाई अर्घ चढाउँदै चैती छठको समापन

blog

सर्लाहीको खोला किनारमा उदाउँदो सूर्यलाई अर्घ चढाउँदै गरेका चैती छठ पर्वका व्रतालु । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत ११ गते ।
आज (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै यो वर्षको चैती छठ पर्व सम्पन्न भएको छ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठको समापन गरिएको हो । गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक चारदिने चैती छठ उत्सव सुरु भएको थियो ।

आज बिहान विभिन्न जलाशयमा पुगेर व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्वको समापन गरेर आ–आफ्नो घर फर्किसकेका छन् । यसअघि मङ्गलबार साँझ व्रतालुहरुले गहुँ र चामललाई ओखल, जातो, ढिँकीमा कुटानीपिसानी गरी पिठोबाट बनाइएका विभिन्न खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गान्हो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित विभिन्न भक्ति एवं लोकगीत गाउँदै जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए ।

मङ्गलबार बेलुका र आज बिहान पानीमा पसेर सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर सबै प्रकारका अर्घ सामग्री पालैपालो गरी सूर्यलाई अर्घ अर्पण गरेका छन् । व्रतालु घर फर्किएसँगै आफन्त, इष्टमित्र र छरछिमेकीलाई छठको पूजा बाँड्न सुरु गरेका छन् ।

सर्लाहीसहित मिथिलाञ्चलको सहरी एवं ग्रामीण क्षेत्रमा रहेका पोखरी, तलाऊ, खोला, नहर किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइएको हो । कतिपयले घरमा समेत कृत्रिम जलाशय बनाएर छठपूजा गरेका छन् । मधेशसँग सीमा जोडिएको भारतको मिथिला क्षेत्रमा पनि चैती छठ पर्व मनाउने परम्परा रहेको छ ।