देवराम यादव
सप्तरी, चैत ११ गते । सडक मापदण्डभित्र परेका जग्गामा अतिक्रमण गरी बनाइएका संरचना मङ्गलबारदेखि राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
नगरको हनुमान मन्दिरदेखि नेताचोकसम्म सडक मापदण्डभित्र परेका जग्गामा निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले पटक–पटक सूचना मार्फत आग्रह गरेको थियो ।
तर संरचना हटाउन अटेर गरिएकाले सडक तथा नाला निर्माणमा ढिलाइ हुन थालेपछि डोजर प्रयोग गरी ती संरचना भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
बिच सडकको दायाँ–बायाँ ९–९ मिटर गरी १८ मिटरभित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिनुभयो ।
उक्त सडक स्तरोन्नति तथा सौन्दर्यकरणको काम सडक डिभिजन कार्यालय लहानबाट ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण सुरु हुनुपर्नेमा साइट क्लियरेन्स नहुँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनीति नगर्न र विकासका काममा राजनीतिक स्वार्थभन्दा माथि उठेर सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले सडक चौडा र सौन्दर्यकरण कार्य सम्पन्न भएपछि केही व्यक्तिमात्र होइन, सिंगो नगरवासी नै लाभान्वित हुने बताउनुभयो ।