बोमलाल गिरी
नवलपुर, चैत ११ गते । एनआइसी एसिया बैँकको दलदले शाखाले घरधनीलाई जानकारी नदिई घर लिलाम गरी अर्कैलाई बेचेको भन्दै मिटरब्याज विरुद्ध किसान मजदुर सङ्घर्ष समिति नवलपुरले विरोध जनाएको छ । समितिले कावासोती–११, कुडौलीस्थित नुनीमाया गुरौको घरमा आफ्नो झण्डा गाडेर गुरौ परिवारलाई नै बसोवास गर्न आग्रह गरेको हो।
पीडित प्रेमबहादुर गुरौका अनुसार उनकी श्रीमती नुनीमायाले आठ वर्षअघि बैँकबाट २५ लाख रुपियाँ ऋण लिएकी थिइन् । हालसम्म करिब ४० लाख रुपैयाँ ब्याज तिरिसक्दा पनि ऋण चुक्ता नभएको उहाँको दाबी छ । सङ्घर्ष समितिका जिल्ला अध्यक्ष शारदा पौडेलले १७ लाख नगद र बैँक कर्मचारीमार्फत एउटा मोटरसाइकल बेचेर बुझाउँदा समेत साँवा रकम नघटेको बताउनुभयो ।
ऋणको विवरण र स्टेटमेन्ट माग्दा बैँकले नदिएपछि थप पहलका लागि काठमाडौँ जाने तयारी भइरहेको संयोजक पौडेलले जानकारी दिनुभयो । यता, एनआइसी एसिया बैँक दलदले शाखाका प्रमुख विवेक अधिकारीले भने बैँकले सम्पूर्ण कानुनी प्रक्रिया पुर्याएर नै घर लिलाम गरी अर्को व्यक्तिलाई बेचेको दाबी गर्नुभयो । उहाँले विस्तृत विवरणका लागि कर्जा असुली विभागमा बुझ्न सुझाव दिनुभयो ।
ऋणको ब्याज तिर्न वैदेशिक रोजगारीका लागि विगत दुई वर्षदेखि दुबईमा रहनुभएकी नुनीमायाले आफू सम्पर्कमै रहँदा बैँकले एक्कासि घर लिलाम गरेको बताउनुभयो । "नियमित ब्याज तिरिरहेकी थिएँ, तर हामीलाई थाहै नदिई घर बेचिएछ," उहाँले टेलिफोनमा भन्नुभयो ।
एउटै घरमा चार पटक ताला
घरधनी विदेशमा रहेको र श्रीमान् अर्कै घरमा बस्ने गरेको मौका छोपी बैँकबाट घर खरिद गरेका चितवनका प्रकाश क्षेत्री र सृष्टि थापा क्षेत्रीले पुरानो ताला फोरेर आफ्नो ताला लगाएका थिए । तर, सङ्घर्ष समितिले उक्त ताला फोडेर पुनः गुरौ परिवारलाई नै नयाँ ताला र चाबी जिम्मा लगाएको छ । हाल उक्त घरमा गुरौ परिवारकै ताला झुन्डिएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले आफूहरूलाई औपचारिक जानकारी नआएको बताउनुभयो । उहाँले पीडित पक्षलाई न्यायका लागि अदालत जान सुझाव दिनुभएको छ । यो विवादले बैँक, पुराना घरधनी र नयाँ खरिदकर्ताबिच थप तनाव बढ्ने देखिएको छ ।