• १२ चैत २०८२, बिहिबार

गुल्मीमा ‘भिक्टोरिया क्रस’ विजेता रानाको शालिक अनावरण

blog

भार्से भूपू गोर्खा फोटो ग्यालरीको प्राङ्गणमा ‘भिक्टोरिया क्रस’ विजेता कर्णबहादुर रानाको शालिक। तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत १२ गते।
गुल्मीमा ‘भिक्टोरिया क्रस’ विजेता कर्णबहादुर रानाको शालिक अनावरण गरिएको छ। ब्रिटिश सेनाको सबैभन्दा उच्च र दुर्लभ वीरता पदक ‘भिक्टोरिया क्रस’  सबैभन्दा कम उमेरमा पाउने रानाको शालिक अनावरण गरिएको हो। यस जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्ग स्थायी घर हुनुभएका उहाँले सन् १९१९ मा बकिङ्घम प्यालेसमा राजा जर्ज पाँचौको हातबाट उक्त दुर्लभ वीरता पदक पाउनुभएको थियो।

प्रथम विश्वयुद्धमा जर्मन सेनाविरुद्धको लडाइँमा उहाँले प्रदर्शन गरेको साहस, बलिदान र कर्तव्यनिष्ठताका कारण बेलायत सरकारद्वारा भिक्टोरिया क्रस प्रदान गरिएको थियो। सत्यवती गाउँपालिका–८ भार्सेमा भार्से भूपू गोर्खा फोटो ग्यालरीको प्राङ्गणमा भारतीय सेनाका भूतपूर्व कर्नेल एसएस सिंहले सालिक अनावरण गर्नुभयो। गत पुसमा भार्से भूपू संघको अगुवाइमा यहाँ कर्णबहादुर रानाको शालिक स्थापना गरिएको थियो। मुर्तिकार यमबहादुर थापाले १५ लाख ५० हजार रुपियाँमा बनाउनुभएको सालिकमा ३०० किलो पित्तलको प्रयोग गरिएको छ।

सन् १८९८ मा जन्मनुभएका कर्णबहादुर बेलायती सेनामा भर्ती हुनासाथ तेस्रो क्विन अलेक्जेन्द्राज ओन गुरखा राइफल्सको दोस्रो बटालियनमा कार्यरत रहँदा ७५ औँ इन्फेन्ट्री डिभिजनअन्तर्गतको २३२ औँ इन्फेन्ट्री ब्रिगेडसहित प्यालेस्टाइन अभियानमा सहभागी हुनुपरेको थियो। जसक्रममा १० अप्रिल १९१८ मा प्यालेस्टाइनको एल केफ्र क्षेत्रमा जर्मन सेनाविरुद्ध भएको युद्धका क्रममा अत्यन्त भीषण गोलीबारी र बम प्रहारबीच लुईस गन प्रयोग गरी शत्रुको मेसिनगन तथा आक्रमण दबाउन असाधारण साहस प्रदर्शन गर्नुभएको थियो। जून लडाइँमा विजयी हात पार्नुभयो। जून वीरताका लागि उहाँलाई २१ जुन १९१८ मा लन्डन ग्याजेटमार्फत भिक्टोरिया क्रस प्रदान गर्ने निर्णय भएको थियो।

१९ वर्षको सबैभन्दा कलिलो उमेरमा पदक पाउने उहाँ नेपालको नाम राख्ने पहिलो व्यक्ति हुनुहुन्छ। पछि प्रथम विश्वयुद्धले छुट्टिएका कारण कर्णबहादुर भारतीय सेनातर्फ गाभिनुभएको थियो। ब्रिटिश सेनाका भूतपूर्व लेप्टिनेन्ट कुलबहादुर बुढाथोकीले सालिक निर्माणका लागि अगुवाइसँगै लागेको सम्पूर्ण खर्च जुटाउनुभयो। उहाँकै अगुवाइमा भार्से भूपू गोर्खा फोटो ग्यालरी र सालिक स्थापना सम्भव भएको भार्से भूपू संघका कोषाध्यक्ष नरु बुढाथोकीले बताउनुभयो। कर्णबहादुरको २५ जुलाई १९७३ मा गुल्मीको लिटुङ भार्सेमा ७४ वर्षको उमेरमा निधन भएको थियो।