• १२ चैत २०८२, बिहिबार

सामाजिक चेतना मूल आधार

blog

अजय शाह 

गौशाला (महोत्तरी), चैत १२ गते  । महोत्तरीको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि गौरीकुमारी यादव चर्चामा आउनुभएको छ । 

उहाँले यस क्षेत्रबाट उम्मेदवार बनेका तीन पूर्वमन्त्रीलाई पराजित गर्दै विजयी बन्नुभएको हो । नेपाली कांग्रेसका महेन्द्रकुमार राय, जनता समाजवादी पार्टी (जसपा) नेपालका  सुरेन्द्रकुमार यादव र  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भरतप्रसाद साहलाई पराजित गर्नुभएको हो । 

उहाँ ३० हजार १३२ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएर सङ्घीय संसद् प्रवेश गर्दै हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवले आठ हजार ७४२ मत प्राप्त गर्नुभयो । महोत्तरीको सम्सी गाउँपालिका–५, सङ्ग्रामपुर पोखरभिन्डामा उहाँको जन्म भएको हो । उहाँले कक्षा ७ सम्म गाउँकै विद्यालयमा अध्ययन गरी कक्षा ८ देखि १० (म्याट्रिक) सम्म भारतको विहार राज्यको सुरसन्ड गोरहारी कन्या विद्यालय र सीतामाढी डुमरा महिला कलेजबाट आइएस्सीसम्म अध्ययन गर्नुभएको छ । 

आइएस्सी पढ्दापढ्दै विवाह भएको केही समयमै श्रीमान् शिवजी यादवले पिएचडी गर्न रुस गएपछि उहाँ पनि सँगै जानुभयो । सन् १९९१ देखि २००० सम्म रुसमै बसेर नेपाल फर्किनुभएको हो । उहाँका श्रीमान् जसपाबाट समानुपातिक सांसद भइसक्नुभएको छ । यादवको राजनीतिक यात्रा भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिएको छ । 

वैकल्पिक राजनीति र पारदर्शिताको नारासहित आफू राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध भएपछि श्रीमान् पनि यही पार्टीमा आबद्ध भएर साथ दिएको उहाँको भनाइ छ । बालेन्द्र (बालेन) साहसँग विशेष प्रभावित भई राजनीतिमा लागेकी यादव जनताले बालेनलाई देशको प्रधानमन्त्री बनाउन लिएको सङ्कल्पबमोजिम यस पटक मतदान गरी रास्वपालाई दुई तिहाइनजिक पु¥याएको बताउनुभयो । 

उहाँले ३०÷३५ वर्षदेखि देशमा देखिएको राजनीतिक अस्थिरताका कारण जनता आजित भएर शान्ति र विकासको अनुभूति गर्न नपाएकाले परिवर्तनका पक्षमा मतदान गर्दै रास्वपालाई देशकै ठुलो दल बनाएर निर्वाचित गराएको बताउनुभयो । 

अब बन्ने बालेन सरकारले जनताले चाहेको जस्तो परिवर्तन महसुस हुने गरी जनताको पक्षमा काम गर्ने र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्ने उहाँको विश्वास छ । आफू आफ्नो क्षेत्रको सामाजिक संरचना, भौगोलिक अवस्था र जनजीवनसँग नजिकबाट परिचित भएको बताउँदै उहाँले स्थानीय समस्या बुझ्ने र समाधान खोज्ने नेतृत्वका रूपमा प्रयास गर्ने बताउनुभयो । 

नवनिर्वाचित सांसद यादवले शिक्षा र सामाजिक चेतनालाई मूल आधार बनाउँदै महिला सशक्तीकरण, सुशासन र सामाजिक सुधारका मुद्दालाई निरन्तर उठाउँदै नीतिगत तहमा कार्यान्वयन गराउन आफ्नो भूमिका  रहने बताउनुभयो । उहाँले यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।