• १२ चैत २०८२, बिहिबार

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

blog

म्याग्दी,  चैत १२ गते ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । 

मालिका गाउँपालिकाले यस सडकको बतासे–फुलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना सुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । 

प्रदेश समपुरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मङ्गला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ । 

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघिनै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधी चक्रलाल पाण्डेले बताउनुभयो । 

हाल तीन दशमलब पाँचदेखि चार मिटर चौडाई भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भइरहेको छ । फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावियन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण व्यवसायी पाण्डेले बताउनुभयो । 

मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दीपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घनमिटर भित्ता काट्ने, चार सय ४५ घनमिटर ग्यावियन जालीको पर्खाल, दुई सय ५४ घनमिटर नाली, दुई सय ५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुने छ । 

यस अघिका वर्षमा थापाचौर देखि देवीस्थान जाने घुम्तिसम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताउनुभयो । रासस