शशिधर पराजुली
विराटनगर, चैत १२ गते । इलामको प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा आगामी चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुन लागेको तेस्रो रेडपान्डा महोत्सवका लागि १ हजार ५०० बढी पर्यटकहरूले प्याकेज बुकिङ गरेका छन् ।
महोत्सवमा १० हजार पर्यटकलाई प्याकेज बुकिङमार्फत भित्र्याउने लक्ष्य लिएर प्रचार–प्रसारलाई तीब्र बनाएको सन्दकपुर गाउँपालिकाले विगत वर्षको तुलनामा पर्यटकहरु वृद्धि हुने जनाएको छ ।
दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण र पर्यापर्यटन प्रवर्धन गर्ने उद्देश्यले सन्दकपुर गाउँपालिकाले वार्षिक पर्यटन क्यालेन्डर नै तयार पारेर यो महोत्सव आयोजना गर्न लागेको विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यस पटक महोत्सवमा सहभागी हुन स्वदेशी र विदेशी गरी झण्डै १ हजार ५०० जनाले अग्रिम प्याकेज बुकिङ गरिसकेका छन् । वाइल्ड लाइफ टुरिजमको रूपमा विकसित भइरहेको रेडपान्डा अवलोकन अन्य धार्मिक तथा प्राकृतिक पर्यटनभन्दा केही महँगो र विशिष्ट हुने आयोजकको भनाइ छ ।
महोत्सवको क्रममा पर्यटकले रेडपान्डाको बासस्थानमै पुगेर यसको प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ अवसर पाउने छन् । रेडपान्डाले मुख्य रूपमा ‘मालिङ्गो’ को मुना र पात खाने हुँदा सोही क्षेत्रका वनजङ्गलमा पदयात्रा गराइने छ । यसका साथै सङ्घीय सरकारको सहयोगमा निर्माण भएको ४३ किलोमिटर लामो ‘रेडपान्डा पदमार्ग’ (माईपोखरी–जौबारी) यस महोत्सवको मुख्य आकर्षण हुने प्रवर्धन समितिका संयोजक सनम राईले जानकारी दिनुभयो ।
यसका साथै पर्यटकले माई भ्याली क्षेत्रमा चराचुरुङ्गीको अवलोकन, विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी, टोड्के झरना र छिन्टापुको भ्रमण गर्न सक्नेछन् । सन्दकपुर डाँडाबाट नेपाल, भारत, भुटान र चीनको ६० भन्दा बढी हिमशृङ्खलाका साथै मनमोहक सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाइने भएकाले पनि त्यस ठाउँमा पुग्न पर्यटकहरू लालायित हुने गरेका छन् ।
महोत्सवमा आउने पर्यटकका लागि खान र बस्न स्थानीय होटल तथा होमस्टेहरूको व्यवस्था गरिएको र त्यहाँ स्थानीय अर्गानिक उत्पादन र परिकारको स्वाद लिन सक्ने आयोजकले जनाएको छ । साथै, प्रत्येक दिन स्थानीय सांस्कृतिक झाँकी, भेषभुषा प्रदर्शनी र संरक्षणका विषयमा प्यानल छलफलहरू आयोजना हुने छन् ।
यसअघिको दोस्रो महोत्सवमा करिब २७ हजार पर्यटक भित्रिएकोमा यस पटक १० हजार ‘क्वालिटी टुरिस्ट’ भित्र्याउने आयोजकको लक्ष्य छ । विशेषगरी, पहिले भारतीय बाटो प्रयोग गर्ने पर्यटकहरू अहिले नेपाली भिसा लगाएर काँकडभिट्टा र भद्रपुर हुँदै आउनेक्रम बढेको छ ।
यस वर्षको महोत्सव सम्पन्न गर्न करिब ८ लाख ५० हजारदेखि १० लाख रुपियाँसम्म खर्च हुने अनुमान आयोजकले गरेको छ । यसका लागि सन्दकपुर गाउँपालिकाले ३ लाख र नेपाल पर्यटन बोर्डले ५ लाख रुपियाँ सहयोग उपलब्ध गराएका छन् ।
यसैगरी कोशी प्रदेश पर्यटन वर्ष कार्यक्रमबाट ३ लाख रुपियाँ उपलब्ध गराउने भएको छ भने केचना–कञ्चनजङ्घा पर्यटन विकास समिति, रेडपान्डा नेटवर्क र स्थानीय पर्यटन व्यवसायीहरूको सहकार्यबाट आवश्यक खर्चहरू जुटाइने आयोजकको भनाइ छ ।
रेडपान्डाको संरक्षणलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन सुधार गर्ने यो महोत्सवले सन्दकपुरलाई विश्व स्तरको वन्यजन्तु पर्यटकीय गन्तव्य बनाउने, स्थानीय उद्यमशीलता विकास गर्ने र रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्ने विश्वास सन्दकपुर गाउँपालिकाले लिएको छ ।