• १२ चैत २०८२, बिहिबार

कोशी प्रदेश मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

blog

कोशी मन्त्री परिषद बैठकको निर्णयबारे जानकारी गराउनुहुँदै सरकारका प्रवक्ता इन्द्रमणि पराजुली ।

खेमराज सापकोटा

रानी (मोरङ), चैत १२ गते । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश प्रशासन, वित्तीय व्यवस्थापन र विपद् पुनर्निर्माणसँग सम्बन्धित निर्णयहरू अनुमोदन गरेको हो ।

बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले २०८३ सालको लागि सार्वजनिक बिदा सूची पनि स्वीकृत गरेको छ । यसैगरी बैठकले वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँटको सीमा निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । 

यस्तै, फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा सहभागी हुनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यको बैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ । यस्तै, गत असोज १८ र १९ गते आएको बाढीपहिरो तथा चैत १ र २ गते आएको हावा–हुरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विपद् कोषमा १५ करोड रुपियाँ जम्मा गर्ने निर्णय पनि गरिएको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।