• १२ चैत २०८२, बिहिबार

छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार

blog

काठमाडौँ, चैत  १२ गते ।  छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत् रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ र ८२ को तुलनामा आव २०८२र८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने (ट्रिपिङ)को सङ्ख्या र रोकावटको समय उल्लेख्य मात्रामा घटेको देखिएको हो ।

प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारका कारण ट्रिपिङको सङ्ख्या घटेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो ।

उहाँले विद्युत् ट्रिपिङको सङ्ख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रसस्त राहत दिएको विश्वास व्यक्त गर्नुभयो ।

“एक वर्षअघि जति ट्रिपिङ हुन्थ्यो त्यसमा यो वर्ष उल्लेख्य सुधार भएको छ भन्ने तथ्याङ्कले पुष्टि गरेको छ”, शाक्ले भन्नुभयो, “प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटिएर गरेको व्यवस्थापनसहितको कामको परिणाम हो यो ।”

उहाँले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्त सार्नेलगायत काममा प्राधिकरण निरन्तर खटिरहेको जानकारी दिनुभयो ।तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र८२ को साउनमा १२९ पटक ट्रिपिङ भएको थियो । उक्त महिना ट्रिपिङका कारण ५९ घण्टा विद्युत् अवरोध भएको थियो ।

आव २०८२र८३ को सोही महिनामा ११५ पटक ट्रिपिङ हुँदा ४४ घण्टा विद्युत् अवरोध भएको थियो । आव २०८१र८२ को  भदौमा  १२८ पटक् ट्रिपिङ हुँदा ६४ घण्टा विद्युत् अवरोध भएको थियो । त्यस्तै, आव २०८२र८३ को  भदौमा ११५ पटक ट्रिपिङ हुँदा ४१ घण्टा  विद्युत अवरोध भएको तथ्याङ्कले देखाउँछ ।

आव २०८१र८२ को असोजमा ११२ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८२र८३ को असोजमा ९८ पटक ट्रिपिङ हुँदा ६१ घण्टा, आव २०८१र८२ को कात्तिकमा ७१ पटक ट्रिपिङ हुँदा ३८ घण्टा, आव २०८२र८३ को सोही महिनामा ५९ पटक ट्रिपिङ हुँदा ३१ घण्टा विद्युत अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो ।

आव २०८१र८२ को मङ्सिरमा ६८ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२र८३ को सोही अवधिमा ३२ पटक ट्रिपिङ हुँदा १४ घण्टा मात्रै विद्युत् अवरोध भएको तियो ।

आव २०८१र८२ को पुसमा ५९ पटक ट्रिपिङ हुँदा २८ घण्टा, चालु आवको सोही अवधिमा ५० पटक ट्रिपिङ हुँदा १३ घण्टा विद्युत् अवरोध भएको शाक्यले उल्लेख गर्नुभयो ।आव २०८१र८२ को माघमा ५४ पटक ट्रिपिङ हुँदा २७ घण्टा, आव २०८२र८३ को माघमा ४४ पट ट्रिपिङ हुँदा १२ घण्टा, आव २०८१र८२ को फागुनमा ६६ पटक ट्रिपिङ हुँदा ३२ घण्टा, आव २०८२र८३ को सोही अवधिमा ४७ पटक ट्रिपिङ हुँदा १२ घण्टा मात्रै विद्युत् अवरोध भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो ।

साउनदेखि फागुनसम्मको अवधिलाई हेर्दा २०८१र८२ को तुलनामा चालु आवमा ट्रिपिङ उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । सात वटै प्रदेशको तथ्याङ्कलाई हेर्दा पनि यही अवस्था देखिन्छ ।

चैत, वैशाख, जेठ र असारमा भने ट्रिपिङको समस्या अन्य महिनाको तुलनामा बढी हुने भन्दै प्राधिकरणले आर्थिक वर्ष २०८१र८२ को तुलनामा चालु आवका ती महिनामा पनि ट्रिपिङ घट्नेमा पूर्ण आशावादी रहेको जनाएको छ । आव २०८१र८२ को चैतमा ८६, वैशाखमा १०९, जेठमा १५० र असारमा १५३ पटक ट्रिपिङ हुँदा क्रमशः ४२, ५७, ८४ र ६५ घण्टा अवरोध भएको थियो ।

प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन चालिएका सकारात्मक कदमका कारण यो सम्भव भएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा हावाहुरी र पानीका कारण ट्रिपिङको समस्या बढेको भन्दै यो वर्ष पनि त्यही कारणले बढ्न सक्ने भए पनि यी महिनामा अघिल्लो वर्षको तुलनामा कम गर्ने तयारीमा प्राधिकरण जुटेको उहाँले जानकारी दिनुभयो ।   रासस